बागलुङ । सनातन हिन्दु अधिराज्य, राजसंस्था तथा राष्ट्रिय एकताको पक्षमा हस्ताक्षर अभियान मंगलबार बागलुङ कालिका भगवती मन्दिरको मुख्य प्रवेशद्वारबाट औपचारिक रूपमा सुरु गरिएको छ।
बलराम हमालको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वामी ऋषि प्रपन्नाचार्यको मंगलाशासन तथा वटुकहरूद्वारा स्वस्तिवाचनपछि अभियानको शुभारम्भ गरिएको हो।
ज्येष्ठ नागरिक दुर्गाबहादुर आचार्य र देवीप्रसाद पाठकले पहिलो हस्ताक्षर गर्दै अभियानको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धर्मप्रेमी तथा देशप्रेमी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सनातन हिन्दु मूल्य–मान्यता, राष्ट्रिय एकता र राष्ट्रिय पहिचानको संरक्षणका लागि जनमत अभिव्यक्त गर्ने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको राप्रपा बागलुङका जिल्ला उपाध्यक्ष सुरज बहादुर खड्काले बताए।



अभियानका सहजकर्ता दीपेन्द्र घिमिरेका अनुसार हालसम्म दुई सय जनाले हस्ताक्षर गरेका छन्।
बागलुङ नगरपालिकाका सबै वडामा अभियान सञ्चालन गरी एक लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
संकलित हस्ताक्षर गृह मन्त्रालयमा बुझाइने पनि आयोजकले जनाएको छ।
आयोजक समितिका अनुसार हस्ताक्षर अभियान आगामी दिनहरूमा बागलुङका विभिन्न स्थानका विस्तार गरिनेछ।
अभियानमा सहभागी भई ऐक्यबद्धता जनाउन सम्पूर्ण देशप्रेमी नेपालीहरूलाई आयोजकले आग्रह गरेको छ।
















































































































































































