बागलुङ । बागलुङमा केही दिनदेखि देखिएको खाना पकाउने ग्यासको अभावपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। ग्यासको कृत्रिम अभाव रोक्न, आपूर्ति सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले मंगलबार बागलुङ बजारका नौ वटा ग्यास डिलर तथा पसलमा अनुगमन गरिएको हो।
बजारमा पछिल्ला दुई दिनमा शक्ति, नेपाल ग्यास, गृहलक्ष्मीलगायत कम्पनीका करिब दुई हजार ग्यास सिलिण्डर भित्रिए पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि प्रशासनले अनुगमन थालेको जनाएको छ।
सोमबार अनुगमनका क्रममा निर्धारित बिक्री मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा ४१ वटा भरि ग्यास सहित न्यू कपुर किचनको एउटा जीपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
ग्यास बिक्रीका नाममा अनुचित लाभ लिन खोजेको आरोपमा चालकविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
ग्यास विक्रीको अनुमति नलिएका सचिना किराना पसल, पञ्चकोट किराना पसल र सर्वसिद्धि फिड सर्भिसले अनुमति नलिई ग्यास बिक्री गर्नुका साथै खाली सिलिण्डर संकलन गरेको भेटिएकाले आवश्यक स्पष्टीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रशासन शाखाका तेजराज गौतमले जानकारी दिए।
कृत्रिम अभाव सिर्जना गर्ने, स्टक लुकाउने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधिबारे जनगुनासो आएपछि पसल र गोदाममा निगरानी बढाइएको उनले बताए।
प्रशासनका अनुसार सोमबारदेखि ठूलो परिमाणमा भरी ग्यास सिलिण्डर भित्रिन थालेपछि केही स्थानमा बढी मूल्य असुलिएको र कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासो बढेपछि अनुगमनलाई कडाइ गरिएको हो। डिपोहरूले स्टक राखेर अनुचित लाभ लिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गोदाम तथा सम्भावित भण्डारणस्थलसमेत निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा आचार्य स्टोर्स, न्यू कपुर किचन, अंकिता ग्यास, खड्का सप्लायर्स, फेमेली स्टोर्सलगायतका ग्यास डिपोको निरीक्षण गरिएको थियो।
कृत्रिम अभाव रोक्न, आपूर्ति प्रणाली व्यवस्थित गर्न तथा कालोबजारी नियन्त्रण गर्ने र उपभोक्ताले सहज ढंगले ग्यास पाउने व्यवस्था मिलाउन र ग्यासको माग थप गर्न केन्द्मा पहल गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले नयाँ विश्वलाई बतानुभयो ।
जिल्ला प्रशासन कार्यालय बागलुङको नेतृत्वमा अनुगमन टोलीमा एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख शिव शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, ग्यास विक्रेता संघ बागलुङका अध्यक्ष हरिप्रसाद आचार्य, सचिव राजु गौतम, बागलुङ नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मी, जिल्ला प्रहरी कार्यालय बागलुङ तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष खेमराज गौतमको सहभागिता रहेको थियो।
















































































































































































