बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयले कक्षा ११ र १२ को शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन केही शिक्षकलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ।
विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द शर्मालाई कक्षा ११ र १२ शिक्षा समूहको इन्चार्जको जिम्मेवारी दिइएको छ भने शिक्षक शंकर थापालाई कक्षा ११ र १२ व्यवस्थापन समूहको इन्चार्ज नियुक्त गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा शिक्षक गंगा शर्मा, विष्णुराज पौडेल र डिल्लीराज उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ तथा सदस्यहरू अनुज श्रेष्ठ, कमला क्षेत्री र मोना थापाले इमानदार, जिम्मेवार शिक्षक र सिर्जनशील विद्यार्थीबीचको सहकार्यबाट शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार सम्भव हुने धारणा राख्नुभयो।
सोही अवसरमा विभिन्न विद्यालयबाट सरुवा भई आएका दुई जना शिक्षकलाई विद्यालय परिवारले स्वागत गरेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षतामा र कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले गर्नु भएको थियो ।
विसं १९९७ मा राणा शासनकालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको नेतृत्वमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा एसईईसहित सार्वजनिक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।
विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीका अनुसार विद्यार्थीमैत्री वातावरण, गुणस्तरीय शिक्षण–सिकाइ, अनुशासित शैक्षिक अभ्यास तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर गरिएको प्रयासका कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो।
उहाँले विद्यालयले शैक्षिक गुणस्तर वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष जोड दिँदै आएको बताउनुभयो।
हाल विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म करिब एक हजार तीन सय विद्यार्थी अध्ययनरत रहेका छन्।
















































































































































































