२२ श्रावण २०८३, शुक्रबार

 

कांग्रेसका युवा नेता विप्लव हमालले गरे सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा हस्ताक्षर

बागलुङ । नेपाली कांग्रेसका युवा नेता, नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका पूर्वकेन्द्रीय सदस्य विप्लव हमालले बागलुङमा सञ्चालित सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा आयोजित हस्ताक्षर अभियानमा सहभागी भई हस्ताक्षर गर्नुभएको छ।

बागलुङ कालिका भगवती मन्दिर परिसरबाट सुरु भएको अभियानमा हमालले सहभागिता जनाएपछि स्थानीय राजनीतिक वृत्तमा यसको चर्चा चुलिएको छ। कांग्रेस पृष्ठभूमिका सक्रिय युवा नेताका रूपमा परिचित हमालले सार्वजनिक रूपमा अभियानमा सहभागी भई हस्ताक्षर गरेपछि यसलाई अर्थपूर्ण राजनीतिक सहभागिताका रूपमा हेरिएको छ।

नेपाली कांग्रेसभित्र नेता खुमबहादुर खड्का निकट मानिने हमाल पार्टीका संस्थापक नेता बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप, प्रजातान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता तथा राष्ट्रिय स्वाभिमानको विचारका पक्षधरका रूपमा परिचित हुनुहुन्छ।

अभियानमा सहभागी हुँदै हमालले संविधानले प्रत्येक नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै राष्ट्रिय पहिचान, सनातन संस्कृतिको संरक्षण र राष्ट्रिय एकतासम्बन्धी विषयमा जनमत अभिव्यक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभएको बताइएको छ।

अभियानमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, धार्मिक व्यक्तित्व तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको छ।

अभियानका संयोजक तथा तत्कालीन कालिका आदर्श गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च बलराम हमाल ठकुरीका अनुसार अभियान आगामी दिनमा बागलुङसहित विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिनेछ।

कांग्रेसका युवा नेताको सार्वजनिक सहभागिताले अभियानलाई थप राजनीतिक बहसको विषय बनाएको छ। विशेषगरी कांग्रेस पृष्ठभूमिका नेताले सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा आयोजित अभियानमा हस्ताक्षर गरेपछि बागलुङको स्थानीय राजनीतिक वृत्तमा यसको प्रभाव र सन्देशबारे चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung