२३ श्रावण २०८३, शनिबार

 

नेकपा बागलुङ नगर समितिको एकता बैठक सम्पन्न, ५५ सदस्यीय अधिवेशन आयोजक समिति गठन

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी बागलुङ नगर समितिको एकता बैठक बागलुङ बजारमा शनिबार सम्पन्न भएको छ। बैठकमा विभिन्न वामपन्थी पार्टीबीचको एकतापछि नगर तहमा समायोजन भएका सदस्यहरूको सुझाव संकलनसँगै संगठन निर्माण, वडा अधिवेशन र नगर समितिको सञ्चालनसम्बन्धी विषयमा छलफल भएको छ।

बैठकमा नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठले विभिन्न वामपन्थी पार्टीबीचको एकतापछि नगर तहमा आएका सदस्यहरूको सुझाव संकलन, वडा अधिवेशन सञ्चालन, संगठन निर्माण तथा नगर समितिको बैंक खाता सञ्चालनलगायतका विषयमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

बैठकमा नगर समितिका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा वडा पार्टी अध्यक्षहरु, जिल्ला प्रदेशहरु र केन्द्रीय सदस्यहरूले संगठनलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए।

सहभागीहरूले पार्टीलाई जनताका संगठनसम्म लैजानुपर्ने, जनविरोधी कार्यशैली परिवर्तन गर्नुपर्ने तथा युवालाई पार्टीप्रति आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्। यस्तै, नगर समितिको कार्यालय व्यवस्थित बनाउनुपर्ने, केन्द्रबाट अनावश्यक रूपमा केन्द्रीय सदस्य वितरण गर्ने प्रणाली रोक्नुपर्ने र जनप्रतिनिधिहरूको कामको समेत मूल्याङ्कन गर्नुपर्ने सुझाव बैठकमा राखिएको थियो।

विभिन्न तहका सदस्यहरू अन्य पार्टीमा गएको अवस्थामा आवश्यक कारबाही गर्नुपर्ने तथा पार्टीले जनमुखी नीति र कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका छन्।

बैठकमा नेकपा बागलुङका सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’, केन्द्रीय सदस्यहरू राजीव घिमिरे, कुसुम बुढा र कृष्ण सापकोटा, जिल्ला संयोजक प्रकाश घर्ती, सहसंयोजक पिङ्गलराज गौतम, नगर सहइन्चार्ज कुमार विक्रम क्षेत्री तथा नगर सहसंयोजक राजु खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो।

बैठकले निर्मलबहादुर श्रेष्ठको संयोजकत्व तथा शालिकराम शर्मा र राजु खड्का सहसंयोजकत्वमा ५५ सदस्यीय बागलुङ नगर समिति अधिवेशन समिति गठन गरेको छ।

नवनिर्मित अधिवेशन समितिले नगरस्तरीय संगठनलाई थप व्यवस्थित गर्दै वडा अधिवेशनलगायतका संगठनात्मक गतिविधि अघि बढाउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung