२४ श्रावण २०८३, आईतवार

 

वन्यजन्तु नियन्त्रण गर्न हेरालो राखौँ : सांसद खड्का

बागलुङ । प्रतिनिधिसभा सदस्य सुशील खड्काले वन्यजन्तुका कारण किसानले व्यहोर्दै आएको कृषि क्षति न्यूनीकरण गर्न सङ्घीय र स्थानीय तहको समन्वयमा तत्काल ‘वन्यजन्तु हेरालो तथा नियन्त्रण कार्यक्रम’ सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खड्काले आफ्नो निर्वाचन क्षेत्र बागलुङमा किसानका बारीमा सुन्तलाका बोट लटरम्म फले पनि बाँदरबाट उत्पादन नष्ट हुने त्रासका कारण किसान चिन्तित रहेको बताउनुभयो। वन्यजन्तुको समस्या बढ्दै जाँदा कतिपय किसानले नयाँ बिरुवा रोप्नसमेत छाडेको उहाँको भनाइ थियो।

उहाँले पहाडी क्षेत्रमा बाँदर तथा तराईमा बँदेल र निलगाईका कारण कृषि उत्पादनमा ठूलो क्षति भइरहेको उल्लेख गर्दै कतिपय स्थानमा किसान खेतीपाती नै छाड्न बाध्य भएको बताउनुभयो।

सांसद खड्काका अनुसार गत वर्ष बागलुङ, म्याग्दी र पर्वत जिल्लाबाट मात्रै रु १०० करोडभन्दा बढीको सुन्तला बिक्री भएको थियो। सुन्तला उत्पादनबाट हुने आम्दानीको पाँच प्रतिशत रकम वन्यजन्तुबाट कृषि जोगाउने कार्यक्रममा लगानी गर्न सके सुन्तला उत्पादन हुने प्रत्येक वडामा वर्षभरि हेरालो परिचालन गर्न सकिने उहाँले बताउनुभयो।

यस्तो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सके गाउँमै तीन लाखभन्दा बढी हरित रोजगारी सिर्जना हुनुका साथै कृषिबाट रु ५० अर्बभन्दा बढीको आर्थिक लाभ लिन सकिने उहाँको दाबी छ।

वन्यजन्तु नियन्त्रणका लागि मोसन सेन्सर, अलार्म, ड्रोनलगायत आधुनिक प्रविधिको प्रयोग गर्न सकिने भए पनि अहिले किसानलाई तत्काल राहत र संरक्षण आवश्यक रहेको सांसद खड्काले जोड दिनुभयो।

किसानलाई राज्यको उपस्थिति महसुस गराउन, कृषि उत्पादन बढाउन, आयात प्रतिस्थापन गर्न तथा गाउँमै रोजगारी सिर्जना गर्न ‘वन्यजन्तु हेरालो तथा नियन्त्रण कार्यक्रम’ तत्काल सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।

साथै कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन आवश्यक ऐन वा विधेयकसमेत अघि बढाउन सांसद खड्काले सरकारसँग आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung