बागलुङ । जिल्लामा नदीजन्य विपद्का घटना न्यूनिकरण गर्नका लागि गैर सरकारी संस्था बागलुङको पहलमा विपद् न्यूनिकरण सामाग्री सहयोग प्राप्त गरी तयारी अवस्थामा राखिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बागलुङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई नदीजन्य विपद् न्यूनिकरणको अत्यावश्यक आधुनिक डुङ्गा, लाइभ ज्याकेट, हेलमेट, उद्दार डोरी लगायत रु.सात लाख ३१ हजार बराबरको सामाग्री प्रदान गरी तयारी अवस्थामा राखिएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र गैर सरकारी संस्था बागलुङको पहलमा आइएनएफ नेपाल, सिवाइसी युवा क्लब, एनजिडिएफ नेपाल तथा बागलुङ उद्योग वाणिज्य संघ लगायत अन्य स्थानीय तह र संघ संस्थाको आर्थिक सहयोगमा जलप्रकोप उद्दार तथा न्यूनिकरणका लागि आवश्यक विपद् व्यवस्थापन सामाग्री सहयोग गरिएको हो ।
बागलुङ जिल्लामा कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, तमानखोला, काठेखोला र ठेउलेखोला जस्ता ठूला खोलामा हुन सक्ने विपद्का घटना र धनजनको क्षति न्यूनिकरणका लागि जिल्लामा पहिलो पटक डुङ्गा सहित आवश्यक समाग्री खरिद गरिएको हो ।

बाढी, पहिरोलगायत विपद्का घटनामा उद्धार तथा खोजी कार्यका लागि आवश्यक सामग्री खरिद गर्न करिब सात लाख ३१ हजार खर्च गरिएको छ ।
१६ फिट लामो हेभी ड्युटी पीभीसी ¥याफ्ट, आउटफिटर प्याडल, गाइड प्याडल, थ्रो ब्याग, सेफ्टी हेल्मेट, लाइफ ज्याकेट, बोट कभर र ह्यान्ड पम्पलगायत नदीजन्य उद्दार सामग्री प्रदान गरिएको गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले जानकारी दिनुभयो ।
“जिल्लामा नदीजन्य विपद्का घटनामा राम्रो डुङ्गा समेत रहेनछ, जिल्लामा अति आवश्यकको रुपमा रहेका सामाग्री विभिन्न संघ संस्थाको सहयोगमा खरिद गरेर जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रदान गरिएको छ” सापकोटाले भन्नुभयो “नदीमा बगेका तथा डुबेका मानिसको उद्दारमा सामाग्री निकै सहयोगी हुनेछ ।”
आठ थान आउटफिटर प्याडल, एक थान गाइड प्याडल, एक थान थ्रो ब्याग, आठ थान सेफ्टी हेल्मेट, आठ थान लाइफ ज्याकेट, एक थान बोट कभर र एक थान ह्यान्ड पम्प सहयोग गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख कृष्ण प्रसाद आचार्यलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
















































































































































































