बागलुङ । ढोरपाटन पुग्ने वर्यटकको संख्यामा क्रमश वृद्धि भएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् जसमध्ये अधिकांश पर्यटक आन्तरिक रहेको पाइएको छ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एक वर्षमै १३ हजारले बढेका छन् ।
ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचार–प्रसार तथा व्यवस्थित होटल तथा होमस्टेको विकासले पर्यटकको संख्यामा बर्सेनी वृद्धि भइरहेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका रेञ्जर सागर सुवेदीका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसंगै पर्यटकबाट प्राप्त हुने राजश्व समेत वर्षेनी बढेको पाइएको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा ढोरपाटनमा आउने पर्यटकको संख्या ३७ हजार ५२० पुगेको हो । सुवेदीका अनुसार ढोरपाटन पुगेका पर्यटकमध्ये ३७ हजार २७० नेपाली पर्यटक हुनभने २५० विदेशकी पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ६९२ पर्यटक ढोरपाटन पुगेका थिए । यस्तै आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेको तथ्याङ्क रहेको छ ।
ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्यामा बर्सेनी बढ्दै गएको सुवेदीको भनाइ छ । उहाँका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट रु. ४७ लाख ६८ हजार ४०५ आम्दानी भएको आरक्ष कार्यालयको भनाई छ ।
आर्थिक वर्ष २०८१÷८२ मा रु. ३१ लाख २१ हजार ५०० राजश्व संकलन भएको थियो । पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायम लगायतका कारण समेत ढोरपाटन चर्चामा छ । आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि रु. १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई रु. तीन हजार प्रवेश शुल्क लिइदै आइएको छ ।
यस्तै आरक्षले ढुङ्गा गिटी बालुवाबाट आर्थिक वर्ष २०८२÷८३ मा रु. एक करोड एक लाख २७ हजार ९५३ संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा संकलन भएको राजश्व रु.४६ लाख ४१ हजारले वृद्धि भएको हो ।
“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ, ढोरपाटनमा पर्यटकको संख्यामावृद्धि हुन आउने मुख्य कारण प्रचार–प्रसार रहेको पाइएको छ, पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफुल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाई पर्नु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्” सुवेदीले भन्नुभयो ।
ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेको पाइएको छ ।
समुद्री सतहदेखि दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् । पर्यटकलाई शुल्क तिरेर क्यापिङको व्यवस्था समेत मिलाइएको छ ।
















































































































































































