३ भाद्र २०८३, बुधबार

 

सशस्त्र प्रहरी बल गुल्म बागलुङको ७औँ स्थापना दिवस सम्पन्न

बागलुङ । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वाटर बागलुङको ७औँ स्थापना दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।

मंगलबार आयोजित मुख्य समारोहको उद्घाटन गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कँडेलले उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्दै सशस्त्र प्रहरीले समुदायमा शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउनुभयो।

उहाँले पर्याप्त स्रोतसाधनको अभावमा काम गर्न कठिनाइ भए पनि राज्यले निर्देशित गरेको प्रचलित कानुनको अधीनमा रही आफ्नो क्षमता र बौद्धिकताले भ्याएसम्म समाजमा सकारात्मक प्रभाव पार्ने गरी सशस्त्र प्रहरीले काम गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जिल्लाको शान्ति–सुरक्षामा सशस्त्र प्रहरीको सहकार्य प्रशंसनीय रहेको बताउनुभयो।

उहाँहरूले शान्ति–सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको विशेष भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

 

‘शान्ति सुरक्षा प्रतिबद्धता’लाई मूल मन्त्रका रूपमा आत्मसात् गर्दै देशका ७७ वटै जिल्लामा स्थापना गरिएका सशस्त्र प्रहरी गुल्ममध्ये बागलुङ गुल्म २०७६ भदौ २ गते स्थापना भएको हो।

स्थापना भएपछि साविक जिल्ला भू–संरक्षण कार्यालयको भवनबाट कार्यालय सञ्चालन हुँदै आएकोमा २०८० माघ ३ गतेदेखि बागलुङ नगरपालिका कार्यालयको रातमाटास्थित भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ।

स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गर्नुका साथै गुल्मका विभिन्न गतिविधिमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।

हतियार खोलजोड प्रतियोगितामा उत्कृष्ट हुने सशस्त्र प्रहरी सहायक हवल्दार अरुण केसी, २ माइल दौडमा प्रथम हुने सशस्त्र प्रहरी सहायक निरीक्षक धर्मेन्द्र ठाडा, तथा हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट हुने सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भुपेन्द्रबहादुर खड्का, सशस्त्र प्रहरी हवल्दार प्रकाश क्षेत्री, सशस्त्र प्रहरी सहायक हवल्दार शिवबहादुर खत्री, सशस्त्र प्रहरी सहायक हवल्दार निरोज कवर र सशस्त्र प्रहरी जवान फागुराम थारुलाई सम्मान गरिएको थियो।

वार्षिक जवानतर्फ सशस्त्र प्रहरी हवल्दार सुमन थापा मगरलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो।

त्यसैगरी, सांस्कृतिक कार्यक्रममा उत्कृष्ट कोरियोग्राफीमार्फत सहयोग गर्ने भूतपूर्व सशस्त्र प्रहरी हवल्दार राजेन्द्र परियार र कोपिला परियारलाई सम्मान गरिएको थियो।

परिचालनमा समन्वय तथा सहकार्यमा सहयोग पुर्‍याउने बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम र बैकुण्ठ सापकोटालाई पनि सम्मान गरिएको थियो।

सशस्त्र प्रहरी बल, नेपालको अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गर्न आवश्यक समन्वय, सहकार्य तथा भवन व्यवस्थापनमा सहयोग पुर्‍याएको भन्दै बडिगाड गाउँपालिका, बागलुङका अध्यक्ष गण्डकी थापा अधिकारीलाई सम्मान गरिएको थियो।

शहीद परिवार सम्मान कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी हवल्दार स्वर्गीय तुलसीराम कँडेलका भाइ गिरिजा कँडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रम गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पदमसिंह भण्डारीको धन्यवाद मन्तव्य तथा सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung