बागलुङ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी टिकाउन छात्रा तथा छात्रहरुलाई होस्टेलको सुविधा दिन थालेको छ भने होस्टेलको पूर्वाधारमा करोडौ लगानी गरेको छ ।
३० वर्ष अघिदेखि छात्रहरुका लागि मात्रै आवासीय सुविधा दिँदै आएको क्याम्पसले तीन वर्षयता सुविधा सम्पन्न छात्रावास निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।
क्याम्पसमा साविक धौलागिरि अञ्चलको बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीहरु स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्दै आएका छन् ।
विद्यार्थीको संख्या घट्दो भएपछि विद्यार्थीलाई थप आर्कर्षीत गर्न होस्टेल निर्माण गरिरहेकोमा अहिले पुन सुविधा सम्पन्न पुरुष होस्टेल निर्माणको अन्तिम चरणमा रहेको क्याम्पस प्रमुख डा. सुर्दशन सिलवालले जानकारी दिनुभयो ।
सिलवालका अनुसार पुरुष छात्रवास जीर्ण भएकाले त्रिविकै सहयोगमा रु. तीन करोड ५० लाख खर्चेर ७० जना विद्यार्थी राख्न मिल्ने छात्रवास निर्माण भइरहेको छ । अहिले भवनको तेस्रो तला ढलान भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा छात्रवासको भौतिक पूर्वाधार थप गर्न भवन निर्माण अन्तिम चरणमा पुगेको हो । खुसी निर्माण सेवा, म्याग्दीले अहिले क्याम्पस परिसर बागलुङ बजारमा छात्रवास निर्माण गरिरहेको छ ।
छात्रवास भवन निर्माणपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आवासको सुविधा उपलब्ध हुने तथा बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई अध्ययनमा सहज हुने अपेक्षा गरिएको छ ।
“बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीका लागि लक्षित निर्माण गरिएको छात्रावास प्रभावकारी देखिएकाले पुनः छात्रवास निर्माण गर्ने योजना बढाएका थियौ, पहिला त महिला विद्यार्थीका लागि आवासीय सुविधा थिएन, तीन वर्ष यता सुविधा दिएका छौं, उनिहरुले सरसफाई शुल्क मात्रै तिरेर होस्टेल बस्न पाएका छन्” सिलवालले भन्नुभयो “जीर्ण पुराना भवनमा १५ पुरुष छात्रहरु बसेर क्याम्पसमा अध्ययनरत छन्, भवन सकिए ७० जना टाढाका तथा विपन्न विद्यार्थीलाई राखेर अध्यापन गर्ने वातावरण तयार हुन्छ ।”
कोठा भाडामा बसेरसमेत अध्ययन गर्न नसक्ने विद्यार्थीहरुलाई क्याम्पसले निःशुल्क रुपमा आवासीय सुविधा दिने योजना अनुसार सुविधा सम्पन्न भवन बनाइरहेको छ ।
“खासगरी दुर्गमबाट आएका जेहेन्दार र गरिब विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले बनाएको नियमका आधारमा विद्यार्थी छनोट गरेर आवासीय सुविधा दिइरहेका छौं,” उहाँले भन्नुभयो “आवासको अभावमा यसअघि छात्रहरुका लागि आवासीय सुविधा दिए पनि छात्रालाई दिन सकिएको थिएन, तीन वर्षदेखि रु।
तीन करोड लागतमा सुविधासम्पन्न छात्राहरुका लागि आवास निर्माण गरेर ४२ विद्यार्थीले सुविधा लिदै आउनुभएको छ भने छात्रवास निर्माण सकिए लगत्तै ७० जना छात्रहरुले समेत आवासीय सुविधा लिन सक्नेछन् ।”
सुविधा सम्पन्न छात्र तथा छात्रावासको अभावनमा गरिब तथा विपन्न र दुर्गमका विद्यार्थीहरुले कोठा भाडा तिरेर अध्ययन गर्दै आएका थिए भने केही विद्यार्थी छात्रावासको अभावमा पोखरा–काठमाडौँ जाने गरेका थिए ।
छात्र तथा छात्रावाससँगै अध्ययनका लागि वञ्चित भएका दुर्गमका जेहेन्दार विद्यार्थीहरुलाई समेत अवसर हुने छात्रवास संयोजक हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
निजी क्याम्पसप्रति विद्यार्थीको आकर्षण रहेको सन्दर्भमा यहाँको क्याम्पसमा भने दुई हजार २०० विद्यार्थीले अध्ययन गरिएको पाइएको छ । तर उक्त संख्या समेत विगतका वर्षको तुलनामा भने घड्दो क्रममा रहेकाले सुविधा सम्पन्न छात्रावास पछि छात्रवास निर्माण गरिरहेको हो ।
क्याम्पसमा विज्ञान, वाणिज्यशास्त्र, मानविकी र शिक्षा शास्त्र शंकायमा स्नातक तथा स्नातकोत्तर तहको विभिन्न कार्यक्रमहरुमा अध्यापन भइरहेको छ । क्याम्पसले बिबिए कार्यक्रम थपेपछि विद्यार्थीको आकर्षण बढ्दो क्रममा देखिएको हो ।
















































































































































































