४ भाद्र २०८३, बिहीबार

 

प्रिसियस एकेडेमीको कबड्डीमा ३१ टोली भिड्दै, शुक्रबारदेखि प्रतियोगिता हुँदै

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखास्थित प्रिसियस एकेडेमीले शुक्रबारदेखि दोस्रो संस्करणको छात्रछात्रा कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्। सामुदायिक तथा संस्थागत गरी १६ विद्यालयका छात्रतर्फ १६ र छात्रातर्फ १५ गरी कुल ३१ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको आज आयोजना गरिएको प्रेस मिट मार्फत जानकारी दिइएको थियो। प्रतियोगिता सम्पन्न गर्न कबड्डी संघ बागलुङले प्राविधिक सहयोग गर्नेछ।

बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक प्रकाश थापाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै प्रतिभा प्रस्फुटन, आत्मविश्वास, अनुशासन र स्वस्थ आचरण विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फका विजेता टोलीले नगद १० हजार रुपैयाँ तथा उपविजेता टोलीले ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, विधागततर्फ उत्कृष्ट डिफेन्डर र रेडरलाई समेत नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका सेमिफाइनलमा पुग्ने टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालको आतिथ्यतामा रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद शर्माको अध्यक्षता भएको कार्यक्रम तथा खेल संयोजक एवं शिक्षक प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको हो।

तस्बिर : मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung