७ भाद्र २०८३, आईतवार

 

विद्यामन्दिर माध्यमिक विद्यालयद्वारा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

बागलुङ । बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत जेहेन्दार, अभिभावकविहीन तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

विज्ञान प्रवर्द्धन कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत १९ जना विद्यार्थीलाई कुल दुई लाख रुपैयाँ बराबरको नगद छात्रवृत्ति प्रदान गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो।

आर्थिक अवस्था कमजोर भएका तथा अभिभावकविहीन विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष श्रेष्ठ बताउनुभयो।

अध्यक्ष श्रेष्ठले छात्रवृत्तिले आर्थिक अभावका कारण अध्ययनमा आउने कठिनाइ कम गर्नुका साथै विद्यार्थीलाई पढाइप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यालयले छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो।

उहाँका अनुसार छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिनुका साथै पढाइप्रति थप उत्साहित र आत्मविश्वासी बनाउन सहयोग पुग्नेछ।

विद्यार्थीको शैक्षिक अवस्थासँगै उनीहरूको सामाजिक तथा आर्थिक अवस्थालाई समेत ध्यानमा राख्दै विभिन्न सहयोग तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको रेग्मीले जानकारी दिनुभयो ।

जेहेन्दार, अभिभावकविहीन तथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्तिले आर्थिक अभावका कारण अध्ययनमा आउने कठिनाइ कम गर्न सहयोग पुग्ने रेग्मीको विश्वास छ।

आगामी दिनमा पनि विद्यार्थीको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै यस्ता सहयोग तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने रेग्मीले जानकारी दिनुभयो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई विद्यालय परिवारले उज्ज्वल भविष्य, सफल शैक्षिक यात्रा तथा निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung