८ भाद्र २०८३, सोमबार

 

आठ महिनामा तयार भयो विद्यालय भवन

बागलुङ । बागलुङमा आठ महिनामा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम गाउँ सुकुर्दुङको सरस्वती माध्यमिक विद्यालयमा आठ महिनामै १२ कोठे सुविधा सम्पन्न विद्यालय भवन र शौचालय निर्माण गरिएको छ ।

ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यामिक विद्यालयको भवन रु. दुई करोड ६८ लाख खर्चेर गोर्खा वेलफेयर ट्रस्ट नेपालले निर्माण गरेको हो । लागतमा १२ कोठाको विद्यालय भवन तथा आठ वटा शौचालय निर्माण भएपछि पठनपाठनमा सहज भएको सरस्वती माध्यामिक विद्यालयका प्रधानध्यापक थम प्रकाश जैसीले जानकारी दिनुभयो ।

कक्षा कोठा अभावको समस्या झेल्दै आएको विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणले सहज भएको उहाँको भनाई छ । कक्षा कोठा अभावमा ६० जना विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउनुपर्ने बाध्यताको अन्त्य भएको जैसीले बताउनुभयो । जैसीका अनुसार दुर्गम गाउँमा ४३१ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय भवन निर्माणपछि कक्षा पाँच, कक्षा सात र कक्षा आठमा विद्यार्थी धेरै भएर दुई समूहमा अध्यापन गराइदै आएको छ । २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीले बगाएको विद्यालयमा त्यस यता भौतिक संरचनाको पिरलो सधै खड्की रहेको विद्यालयको भनाई छ ।

चार कोठा विद्यालय भवन बाढीले बगाएपछि विद्यालयले जेनतेन नगरपालिका, प्रदेश सरकार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १२ कोठे पक्की भवन बनाएको थियो । विद्यार्थीसंख्या धेरै भएपछि अहिले १२ कोठाको विद्यालय भवन थपिएपछि पठनपाठनमा सहज भएको छ ।

विद्यालयमा १२ कक्षाकोठा थिए, बालविकासदेखि १० सम्म ११ वटा कोठा चाहियो, तीन वटा कक्षालाई विद्यार्थी धेरै भएर विभाजन गर्दा ट्रसको छाप्रो र पक्की भवनको भ-याङमुनी पढाउने गरेका थियौ” जैसिले भन्नुभयो “अहिले १२ नयाँ कोठा र शौचालय थपिएपछि प्रयोगशाला, पुस्तकालय सबैलाई कोठा पुगेको छ, आठ महिनामै सुविधा सम्पन्न विद्यालय भवन बन्दा हर्षित छौं ।”

विद्यालय भवन निर्माणमा रु.दुई करोड ६८ लाखमध्ये १० प्रतिशत स्थानीय जनश्रमदान समेत रहेको छ । विद्यालयको भवन २०८२ कात्तिक २५ गते शुरु भएर २०८३ असारको १६ गते सम्पन्न भएको थियो । दुर्गम गाउँमा धेरै विद्यार्थी भएको विद्यालय भएकाले भवन तथा शौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर ट्रस्ट पोखराका प्रतिनिधि जीवन गुरुङले जानकारी दिनुभयो ।

विद्यालयमा पाँच कक्षा, सात र आठ कक्षा दुई/दुई समूहको पढाई चलिरहेको छ भने विद्यालयमा विज्ञान प्रयागशाला, पुस्तकालय र कम्प्युटर प्रयोगशाला लगायतका शैक्षिक क्रियाकलाप भइरहेको छ । विद्यालयमा डेढ घण्टा हिडेर सोही वडाको रुद्रतालदेखि विद्यार्थी पढ्न आउने गरेका छन् ।

विद्यालयमा सुप्राङ, मसुरी, मम्ला, सानो कुगु, ठूलो कुगु सहित छिमेकी आठ नम्बर वडाका गाउँबाट समेत पढ्न आउने गरेका छन् । बसाइसराइँ नरहेको उक्त गाउँमा विद्यार्थी धेरै भएकाले भवन निर्माणले सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung