बागलुङ । अधिकांश मजदुर तथा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने बागलुङ नगरपालिका–४, ओढारचौरस्थित देउराली आधारभूत विद्यालयका १९ जना विद्यार्थीलाई झोला तथा नगद सहयोग गरिएको छ।
नन्दप्रसाद–नन्दकली उपाध्याय आचार्य स्मृति अक्षय कोष र झरना केसी ‘गुडिया’ स्मृति बाल कोषबाट सोमबार विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई झोला तथा नगद सय रुपैयाँ सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी आचार्यले जानकारी दिनुभयो।
नन्दप्रसाद–नन्दकली उपाध्याय आचार्य स्मृति अक्षय कोष र झरना केसी ‘गुडिया’ स्मृति बाल कोषबाट वार्षिक रूपमा प्राप्त हुने ब्याज रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आइएको छ।


यस्तै, विद्यालयमा स्थापना गरिएको झरना केसी ‘गुडिया’ स्मृति बाल कोषबाट पनि विद्यार्थीलाई नगद सहयोग गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र ‘खुशी मन बागलुङ’का अध्यक्ष नारायण आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो।
नन्दप्रसाद–नन्दकली उपाध्याय आचार्य स्मृति अक्षय कोषका संरक्षक शिवराम शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमारी शर्माले गर्नुभएको थियो भने सञ्चालन समाजसेवी राजेन्द्र आचार्यले गर्नुभएको थियो।
















































































































































































