बागलुङ । प्रबुद्ध युवा समूह बागलुङले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजार तथा आसपासका बस्तीका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
समूहले बाढीपीडित परिवारलाई औषधी, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो। राहत वितरण अभियान प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारको नेतृत्वमा सञ्चालन गरिएको थियो। अभियानमा जैमिनी नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेल, युएण्डडि नेपालका अध्यक्ष सुजन सापकोटा, प्रेम थापा, प्रदीप खड्काथोकी र सतीश रेग्मीलगायतको सहभागिता रहेको थियो।
राहत वितरणसँगै टोलीले स्थानीयस्तरमा बाढीपीडित परिवारको उद्धार तथा शव व्यवस्थापनमा समेत सहयोग गरेको थियो।
बाढीबाट अकल्पनीय जनधनको क्षति भएको भन्दै समूहले संकटको समयमा सरकार थप जिम्मेवार भएर शव व्यवस्थापन, पीडित परिवारलाई मनोवैज्ञानिक परामर्श, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा प्रभावकारी रूपमा ध्यान दिन आग्रह गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुर्याइएको प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारले बताउनुभयो।
युएण्डडि नेपालका अध्यक्ष सुजन सापकोटाले विपद्को कठिन परिस्थितिमा सम्पूर्ण नेपाली एकजुट भएर उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले पीडित परिवारलाई सहयोग गर्न सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रबुद्ध युवा समूहका सल्लाहकार दिलिप पर्तेलका अनुसार समूहले धौलागिरि अस्पताल, पर्वत अस्पताल र समानान्तरण मेडिकलबाट औषधी तथा बागलुङ बजारबाट खाद्यान्न र लत्ताकपडा संकलन गरेको थियो। करिब दुई लाख पचास पचास हजार रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाइएको उहाँले जानकारी दिनुभयो।
















































































































































































