१७ भाद्र २०८३, बुधबार

 

नेकपा गलकोट नगर समितिद्वारा बाढीपीडितका लागि ५१ हजार सहयोग

बागलुङ । नेकपा गलकोट नगर समितिले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेकपा गलकोट नगर समितिले पार्टीको केन्द्रीय समितिले स्थापना गरेको दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज हर्क थापाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’ले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा राहत तथा पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

बैठकले बाढीपीडितका लागि थप राहत संकलन गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने तथा वडा अधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज फमलाल निउरे, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’, जिल्ला संयोजक प्रकाश घर्ती र केन्द्रीय सदस्य तथा नगर इन्चार्ज हर्क थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठक नगर समितिका अध्यक्ष गंगा भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गत १० भदौमा चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए ।

बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सर्वसाधारण, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, संघ–संस्था तथा विभिन्न दाताले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung