२० भाद्र २०८३, शनिबार

 

हेम-चन्द्र स्मृति पत्रकारिता पुरस्कार सृजना पन्तलाई

बागलुङ । हेम-चन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार सृजना पन्तलाई प्रदान गरिएको छ। शनिबार नेपाल पत्रकार महासंघ बागलुङ शाखाको सभाकक्षमा आयोजित कार्यक्रममा पन्तलाई नगद रु ५० हजार, दोसल्ला र मालाले सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ र पुरस्कार कोषका संरक्षक अधिवक्ता राम शर्माले पत्रकार पन्तलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।

मानव अधिकारको क्षेत्रमा निरन्तर कलम चलाउँदै पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

अधिवक्ता राम शर्मा र उहाँको परिवारले आफ्नी आमा हेमकुमारी शर्मा र बुबा चन्द्रदत्त शर्माको स्मृतिमा रु ५ लाखको हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार कोष पत्रकार महासंघ बागलुङ शाखामा स्थापना गर्नुभएको हो। कोष स्थापना भएपछि प्रदान गरिएको यो पहिलो पुरस्कार हो।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीष, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पुरस्कार कोषकी संरक्षक मन्दिरा शर्मा तथा सम्मानित व्यक्तित्व सृजना पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो।

पुरस्कृत पत्रकार पन्त नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष तथा धौलागिरि जागरण दैनिककी सह-सम्पादक हुनुहुन्छ।

उहाँले पत्रकारितामार्फत मानव अधिकार, महिला अधिकार तथा सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षतामा सम्पन्न पुरस्कार समर्पण कार्यक्रमको उपाध्यक्ष सुवास आचार्यले स्वागत र सचिव नारायण रिजालले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung