बागलुङ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिक लुहाइताओको उद्धार गरिएको हो। उनलाई सुरुङको करिब २२५ मिटरभित्रबाट जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण सुरुङभित्र फसेका लुहाइताओको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका थिए।
यसअघि शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको क्षेत्रबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।
त्यस्तै, नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको समेत जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीका अनुसार आनन्द श्रेष्ठको घरमा बाढी र पहिरोका कारण पुरिएकी ती महिलाको उद्धार गरिएको हो।
लगातारको खोज तथा उद्धार अभियानका क्रममा बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट जीवित व्यक्तिहरूको उद्धार भइरहेको छ।
















































































































































































