बागलुङ । प्रबुद्ध युवा समुह, बागलुङको आयोजनामा प्राथमिक मनोवैज्ञानिक उपचार, आत्महत्या न्यूनीकरण तथा सामाजिक सञ्जालका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा जुनसुकै समयमा जस्तोसुकै घटना तथा परिस्थिति सिर्जना हुन सक्ने भएकाले त्यस्ता घटनाले विकराल रूप लिन नदिन कार्यक्रम आयोजना गरिएको प्रबुद्ध युवा समुहका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।
कार्यक्रममा प्राथमिक मनोवैज्ञानिक उपचारसँगै पछिल्लो समय बढ्दै गएको आत्महत्याको जोखिम तथा सामाजिक सञ्जालको प्रभावका विषयमा समेत छलफल गरिएको थियो।
सामाजिक सञ्जालको गलत प्रयोग तथा त्यसबाट उत्पन्न हुने मानसिक तनावका कारण विभिन्न समस्या सिर्जना भइरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायबारे सहभागीहरूले आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण गर्दै खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्यले समाजमा रहेका विकृति तथा समस्यालाई जरैदेखि न्यूनीकरण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई सही दिशातर्फ लैजान यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पछिल्लो समय समाजमा यस्ता कार्यक्रमको आवश्यकता अझ बढ्दै गएको बताए।
यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गर्ने भएकाले ग्रामीण क्षेत्रसम्म पनि कार्यक्रम विस्तार गर्न सुझाव दिए ।
कार्यक्रममा कन्टेन्ट क्रिएटर सेलिजा क्षेत्रीले सामाजिक मर्यादा र जिम्मेवारीलाई ख्याल गर्दै कन्टेन्ट निर्माण गर्न सुझाव दिएकी छन् ।
उनले समाजमा नपच्ने, नकारात्मक प्रभाव पार्ने तथा विकृति फैलाउने खालका सामग्रीभन्दा समाजलाई सकारात्मक सन्देश दिने र सिर्जनात्मक कन्टेन्ट निर्माणमा जोड दिइन् ।
कार्यक्रममा संयुक्त चार युवा क्लबका अध्यक्ष साकार अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य मन्जुल शाक्य, पर्वत कुँवर, प्रदीप खड्काथोकी, अशोक केसी र सुवास शर्मा सापकोटालगायतले मन्तव्य राख्दै कार्यक्रमको प्रभावकारिता र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा सुझाव दिएका थिए ।
प्रबुद्ध युवा समुहका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रेजिना खत्रीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन समुहका सल्लाहकार दिलीप प्रतेलले गरेका थिए ।
















































































































































































