बागलुङ । नेपाली कांग्रेस बागलुङको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तारानाथ पौडेललाई दिइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नसकेका बागलुङसहित पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको हो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिले बागलुङमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पौडेललाई दिएको सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशनसहित महाधिवेशन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । बागलुङसहित कञ्चनपुर, कैलाली, डोटी र मुगुमा कार्यवाहक सभापति तोकिएको हो ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै पौडेलले बुधबार जिल्ला बैठक राखेर वडा अधिवेशनको तयारी अघि बढाउनुभएको छ ।
नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन रहनुभएको छ । उहाँ नियमित महाधिवेशनको पक्षमा रहँदै आउनुभएको थियो । असोज ३ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रिया अघि नबढाउने अडान लिएपछि केन्द्रले कार्यवाहक सभापति तोकेको हो ।

















































































































































































