२ आश्विन २०८३, शुक्रबार

 

मेटलाइफ नेपालका महाप्रबन्धक श्रेष्ठलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

बागलुङ। मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ अन्तर्गत ‘जीवन बीमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व’ विधामा सम्मान गरिएको छ।

यो सम्मानले स्थानीय प्रतिभा तथा नेतृत्वको विकासप्रति मेटलाइफ नेपालको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ।

साथै, बीमा क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्‍याउँदै देशभरका ग्राहकलाई अर्थपूर्ण सुरक्षा तथा वित्तीय सुरक्षाका समाधान उपलब्ध गराउन व्यवस्थापनले गर्दै आएको निरन्तर प्रयासलाई पनि यस सम्मानले कदर गरेको कम्पनीको भनाइ छ।

सन् २०१७ मा श्रेष्ठ मेटलाइफ नेपालको नेतृत्व गर्ने पहिलो नेपाली नागरिक बनेका थिए। उनले स्थानीय नेतृत्व प्रतिभाको विकास, ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने तथा निरन्तर सिकाइ, विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विभिन्न पहलको नेतृत्व गर्दै आएका छन्।

उनको नेतृत्वमा मेटलाइफ नेपालले ग्राहककेन्द्रित समाधान, डिजिटल नवप्रवर्तन, सञ्चालन उत्कृष्टता तथा कर्मचारी विकासमा आफ्नो ध्यान निरन्तर सुदृढ गर्दै आएको कम्पनीले जनाएको छ।

साथै, नेपालमा बीमा क्षेत्रको व्यावसायिक मापदण्डलाई थप बलियो बनाउन पनि कम्पनीले निरन्तर काम गर्दै आएको बताइएको छ।

सम्मान प्राप्त गरेपछि श्रेष्ठले यो अवार्डबाट आफू अत्यन्त सम्मानित महसुस गरेको बताए। उनले ग्राहकलाई अझ सुरक्षित र आत्मविश्वास पूर्ण भविष्य निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यमा योगदान गर्ने कर्मचारी, अभिकर्ता, साझेदार तथा सम्पूर्ण सरोकारवालासँग यो सम्मान साझा गर्न चाहेको बताए।

श्रेष्ठले मेटलाइफ नेपालमा मानिसमा लगानी गर्दै बीमा क्षेत्रको व्यावसायिक मापदण्डलाई थप उकास्न तथा ग्राहक र समुदायका लागि दीर्घकालीन मूल्य सिर्जना गर्न कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए।

सीएन मिडियाद्वारा आयोजना गरिने एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डले नेतृत्व, नवप्रवर्तन, सम्बन्धित क्षेत्रमा योगदान तथा व्यावसायिक उपलब्धिमार्फत उत्कृष्टता प्रदर्शन गरेका एसियाभरका प्रतिष्ठित पेशाकर्मीलाई सम्मान गर्दै आएको छ।

यस वर्ष चीन, मलेसिया, बंगलादेश, भारत, जापान र नेपालका विभिन्न क्षेत्रका प्रतिष्ठित पेशाकर्मीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung