बागलुङ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरिएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा आयोजित कार्यक्रममा आश्रमलाई आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले मानव सेवा आश्रम बागलुङकी विपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो।
आश्रमको आवश्यकताअनुसार चिनी, दाल, चाउचाउ, बिस्कुट, मसला र सोयाबिनलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको जनाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने बताउनुभयो।
उहाँले संविधानको पूर्ण कार्यान्वयनसँगै लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण, सुशासन, विकास र समुन्नतिका लागि सबै पक्षबीच एकता, सहकार्य र साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको अध्यक्षता तथा महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’को सञ्चालनमा सम्पन्न भएको थियो।

















































































































































































