बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ नगरपालिकाको नगर सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।
सभापतिका लागि नारायण पौडेल, आशिक राजभण्डारी र नारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। यसअघि पौडेल र राजभण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेको समाचार सार्वजनिक भएको थियो।
नगर उपसभापति पदका लागि हारेश्वर सुवेदी र सृजना अधिकारी पौडेल तथा सचिव पदका लागि कमल बोहरा, दीपेन्द्र गौतम र अर्जुन सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक गीता कुमारी लामिछानेले जानकारी दिनुभयो ।
निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता बुधबार दिउँसो ३ बजेसम्म मात्र थियो।आज नगर कार्यसमितिका ३३ पदाधिकारी तथा सदस्यका लागि निर्वाचन हुँदैछ भने थप ९ जना सदस्य मनोनित गर्ने विधानमा व्यवस्था रहेको जनाइएको छ।
मतदानको समय उम्मेदवारहरूसँग आपसी छलफल र सहमतिपछि निर्धारण गरिने भएको छ। मतदान बागलुङ नगरपालिका–३, राधाकृष्ण टोलस्थित राधाकृष्ण मन्दिरमा हुनेछ।
नगर अधिवेशनमा ४५६ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने बताइएको छ। उम्मेदवारी दर्तासँगै सभापतिसहित विभिन्न पदका उम्मेदवारहरू प्रतिनिधिसँग भेटघाट तथा समर्थन जुटाउने प्रयासमा सक्रिय भएका छन्।
नगर नेतृत्व चयनका लागि वडा तहका अधिवेशन सम्पन्न भएपछि पालिका तहको अधिवेशन हुन लागेको हो। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनपछि गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढाएको छ।
















































































































































































