९ आश्विन २०८३, शुक्रबार

 

भारी वर्षापछि कांग्रेस बागलुङ क्षेत्र नं १ को अधिवेशन असोज ११ गते

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १० गते हुने भनिएको बागलुङ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन भारी वर्षा तथा बाढीपहिरोको जोखिमका कारण एक दिन पछि सरेको छ।

बागलुङ क्षेत्र नं। १ को क्षेत्रीय तथा प्रदेश अधिवेशन असोज ११ गते सम्पन्न गर्ने निर्णय भएको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले जानकारी दिनुभयो।

क्षेत्रीय प्रतिनिधि, गाउँ तथा नगर सभापति र वडा सभापतिहरूको सहभागिता रहने अधिवेशन बागलुङ नगरपालिका–२ स्थित ब्राउन आइज पार्टी प्यालेसमा बिहान ११ बजे हुने भएको छ।

अधिवेशनमा १ हजार २ सय १५ जना क्षेत्रीय प्रतिनिधिले भाग लिने भएका छन्।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पा खड्काले गर्नुहुने भएको छ।

क्षेत्रीय अधिवेशनले सभापतिसहित २३ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित गर्नेछ। नेपाली कांग्रेसको विधानअनुसार निर्वाचित नयाँ कार्यसमितिले थप ६ जना सदस्यलाई मनोनित गर्ने व्यवस्था रहेको छ।

अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित हुनेछन्। साथै, गण्डकी प्रदेश ‘क’ र ‘ख’ को प्रदेश महाधिवेशनका लागि आवश्यक प्रतिनिधि पनि अधिवेशनबाट चयन गरिनेछ।

भारी वर्षाका कारण सम्भावित बाढीपहिरो तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरिएको क्षेत्रीय सभापति शर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung