९ आश्विन २०८३, शुक्रबार

 

बागलुङ दुग्ध उत्पादक सहकारी संघको २५औँ साधारणसभा सम्पन्न

बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका कार्यालय प्रमुख डा. भरत रेग्मीले सहकारीमार्फत गाउँका किसानले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थलाई बजारसम्म पुर्‍याएर किसानलाई प्रत्यक्ष आम्दानी हुने वातावरण सिर्जना भएको बताउनुभयो ।

उहाँले दुग्ध किसानलाई संगठित गर्दै दूध उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै यसले किसानको आर्थिक तथा सामाजिक जीवनमा समेत परिवर्तन ल्याउन सहयोग गरेको उल्लेख गर्नुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले सहकारीमार्फत दूधको बजारीकरणलाई प्रोत्साहन गर्न ९ लाख लिटर दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेको डा. रेग्मीले जानकारी दिनुभयो ।

साधारणसभामा संघका सचिव गोविन्दप्रसाद सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष केशवप्रसाद कँडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मणिभद्र कँडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिम कार्कीले सहकारीप्रतिको विश्वास र भरोसा कायम गर्न सहकारीकर्मी इमानदार र जवाफदेही हुनुपर्ने बताउनुभयो । सहकारीप्रति देखिएको निराशा र भ्रम चिर्न दुग्ध सहकारीले उदाहरणीय काम गरेको उहाँको भनाइ थियो ।

साधारणसभाका अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा रुद्रप्रसाद उपाध्यायलाई नगद ४ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

संघका अध्यक्ष दीपक गौतमको अध्यक्षता, उपाध्यक्ष रामबहादुर हमालको स्वागत र सचिव गोविन्दप्रसाद सापकोटाको सञ्चालनमा साधारणसभा सम्पन्न भएको हो ।

दूध, दही, छर्पी, मोही, घ्यू र पनिर उत्पादन तथा बिक्री गर्दै आएको सहकारीले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका १५ वटा सहकारीमार्फत दूध संकलन गर्दै प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

संघका अनुसार आर्थिक वर्ष २०८२र८३ मा १३ करोड १० लाख ६० हजार रुपैयाँ आम्दानी भएको छ । सो अवधिमा १२ करोड ५९ लाख ८१ हजार ५०० रुपैयाँ खर्च भई ५० लाख ७८ हजार ५०० रुपैयाँ बचत भएको छ ।

 

तस्बिर आर्दश संचारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung