१० आश्विन २०८३, शनिबार

 

बागलुङमा चिनी व्यापारीको मनपरी, चिनी प्रतिकिलो १३० पुग्दा पनि प्रशासन मौन

बागलुङ । बागलुङ बजारमा चिनीको मूल्य एक महिनामै प्रतिकिलो २० रुपैयाँसम्म बढेर १३० रुपैयाँ पुगेको छ । भदौको पहिलो साता प्रतिकिलो १०० रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य अहिले बढेर १३० रुपैयाँ पुगेको हो ।

एक महिनाअघि बागलुङ बजारमा चिनी प्रतिकिलो १०५ देखि ११० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । त्यसपछि क्रमशः १२०, १२५ हुँदै अहिले १३० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ । गाउँका पसलमा भने चिनीको मूल्य अझै बढेर प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको बताइएको छ ।

बागलुङमा विभिन्न होलसेल व्यवसायीमार्फत चिनी भित्रिए पनि मूल्य बढ्दै जाँदा प्रभावकारी अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ । चिनीको मूल्य निरन्तर बढ्दा पनि कृत्रिम मूल्य वृद्धि नियन्त्रणका लागि प्रशासन र स्थानीय तहबाट प्रभावकारी पहल हुन नसकेको उनीहरूको भनाइ छ ।

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ । साल्ट ट्रेडिङबाट डिलरले प्रतिकिलो १०५ रुपैयाँमा खरिद गरेको चिनी उपभोक्तासम्म पुग्दा १३० रुपैयाँसम्म पुगेपछि मूल्य अन्तरप्रति प्रश्न उठेको छ ।

उपभोक्ता रनबहादुर जिसीले एउटै चिनीको मूल्य पसलअनुसार फरक–फरक हुनुको कारण खोजिनुपर्ने बताउनुभयो । उहाँले साल्ट ट्रेडिङबाट १०५ रुपैयाँमा खरिद गरिएको चिनी ३० रुपैयाँसम्म थपेर बिक्री गर्दा पनि प्रहरी प्रशासन मौन बसेको भन्दै प्रश्न गर्नुभयो ।

“चिनी एउटै हो, तर पसलैपिच्छे मूल्य फरक छ । गाउँका पसलमा त प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको छ । साल्ट ट्रेडिङबाट १०५ रुपैयाँमा ल्याएको चिनी ३० रुपैयाँ थपेर बिक्री गर्दा प्रहरी प्रशासन किन मौन छ ?” उहाँले प्रश्न गर्नुभयो ।

बागलुङका चिनी होलसेल व्यवसायीले लामो समयदेखि ठूलो परिमाणमा वीरगञ्ज क्षेत्रबाट चिनी खरिद गरी बिक्री गर्दै आएका छन्। बागलुङमा खपत हुने चिनीको मुख्य आपूर्ति वीरगञ्ज हुँदै हुने गरेको छ।

नेपालका विभिन्न जिल्लामा चिनी आपूर्ति गर्ने ठूला उद्योगहरू भने सर्लाही, महोत्तरी, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा रहेका छन्। ती उद्योगबाट उत्पादित चिनी विभिन्न व्यापारिक केन्द्र हुँदै देशभरका बजारमा पुग्ने गरेको छ।

चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगिँदै गएको छ । पछिल्लो समय खाद्यवस्तुको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको उपभोक्ताको गुनासो छ । स्थानीय तह र प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग उपभोक्ताले गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने साल्ट ट्रेडिङबाट डिलरले खरिद गरेको चिनी प्रतिकिलो ११५ रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने बताउनुभएको छ । उहाँले बजार अनुगमनलाई कडाइ गरिएको र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरे कारबाही हुने चेतावनी दिनुभयो ।

“चिनी दुईतिरबाट बागलुङ बजारमा आउँछ । व्यापारीले १०५ रुपैयाँमा लिएको चिनी बढीमा १० रुपैयाँ नाफा राखेर उपभोक्तासम्म पुर्‍याउनुपर्छ । साल्ट ट्रेडिङबाट ल्याएको चिनीको मूल्य ११५ रुपैयाँ कायम गरी सूचना टाँसेर उपभोक्तालाई जानकारी गराउनुपर्छ । अन्यथा कालोबजारी ऐनअन्तर्गत कारबाही गर्छौँ,” प्रजिअ आचार्यले भन्नुभयो ।

“चाडपर्वको बेला उपभोक्ताको ढाड सेक्ने गरी होलसेल व्यवसायीले चिनी बिक्री गरिरहेको विषयलाई स्थानीय प्रशासनले गम्भीरतापूर्वक लिनुपर्छ,” नागरिक समाज बागलुङका संयोजक तथा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले भन्नुभयो ।

उहाँले “चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रूपमा बढ्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्छामा पर्ने भन्दै बजार अनुगमन र मूल्य नियन्त्रणमा प्रशासनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सर्वसाधारण नागरिकले उपभोग गर्ने सामानको आपूर्ति र सन्तुलित बजार मूल्य कायम गर्ने विषयमा संघीय सरकार र स्थानीय सरकारले विशेष ध्यान दिएर बजार अनुगमन गरि आवश्यक पर कारवाही पनि गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung