१० आश्विन २०८३, शनिबार

 

बागलुङमा साल्ट ट्रेडिङको पाँच दिनमै साढे १४ लाखको कारोबार, चिनी मात्रै १० हजार किलोभन्दा बढी बिक्री

बागलुङ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसलबाट पाँच दिनमै १४ लाख ५८ हजार ४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

असोज ५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा चिनीको बिक्री सबैभन्दा बढी भएको छ । पाँच दिनको अवधिमा मात्रै १० हजार ९९ किलो चिनी बिक्री भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाले जनाएको छ । चिनी बिक्रीबाट मात्रै १० लाख ९ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, ६ हजार ५ सय ८८ किलो नुन बिक्रीबाट १ लाख ५८ हजार १ सय १२ रुपैयाँ, ४ सय ८१ लिटर शुद्ध तोरीको तेलबाट १ लाख ८२ हजार ७ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी पाँच किलोको आटा २ सय २८ प्याकेटबाट ७९ हजार ८ सय रुपैयाँ, दुई किलोको आटा ७५ प्याकेटबाट ११ हजार २ सय ५० रुपैयाँ र दुई किलोको मैदा १ सय ८ प्याकेटबाट १६ हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सुपथ मूल्य पसलबाट पाँच दिनमा २ हजार ४५ जना उपभोक्ताले लाइन बसेर सामान खरिद गरेको साल्ट ट्रेडिङ बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । बजारभन्दा सहुलियत मूल्यमा दैनिक उपभोग्य सामग्री पाइने भएपछि अविरल वर्षाका बाबजुद पनि उपभोक्ताले कार्यालयमा आएर सामान लगेका हुन् ।

हाल सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १ सय रुपैयाँ, नुन २४ रुपैयाँ, शुद्ध तोरीको तेल प्रतिलिटर ३ सय ८० रुपैयाँ, पाँच किलोको आटा ३ सय ५० रुपैयाँ, दुई किलोको आटा १ सय ५० रुपैयाँ र दुई किलोको मैदा १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

श्रेष्ठका अनुसार बजार मूल्यको तुलनामा चिनीमा प्रतिकिलो ३० रुपैयाँ, नुनमा २ रुपैयाँ र शुद्ध तोरीको तेलमा प्रतिलिटर ४५ रुपैयाँ छुट दिइएको छ ।

साल्ट ट्रेडिङका आफ्नै उत्पादन आयो नुन, तोरीको तेल, आटा र मैदा गुणस्तरीय र सहुलियत मूल्यमा उपलब्ध भएकाले पनि उपभोक्ताले धेरै रुचाएको शाखाले जनाएको छ । तोरीको तेल नेपाल वनपस्पति ध्यु उद्योग लिमिटेड हेटौडाबाट उत्पादित शान्ती तोरीको तेल हो ।

उपभोक्तालाई सहज रूपमा सामान उपलब्ध गराउने उद्देश्यले एक व्यक्तिले अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन, पाँच किलोको आटा, मैदा र पाँच लिटर तोरीको तेल खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाले सञ्चालन गरेको सुपथ मूल्य पसल असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung