१२ आश्विन २०८३, सोमबार

 

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । अविरल वर्षापछि आएको पहिरो र विपद्का घटनामा परी बागलुङमा दुई दिनमा १० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

आइतबार मात्रै जिल्लाका दुई स्थानीय तहमा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको हो ।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ ।

सोही वडामा पहिरोले आठ घर बगाएको छ । पहिरो आउनुअघि स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उद्धार तथा क्षतिको विवरण संकलनका लागि प्रजिअ आचार्य र प्रहरी प्रमुख प्रसाईसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत घटनास्थल पुगेको थियो ।

यस्तै तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही घटनामा हस्तवीर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छन् ।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।

यस्तै निसीखोला गाउँपालिका–६ रंगिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध तथा घर तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । उद्धार, खोजी तथा क्षतिको विवरण संकलनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung