बागलुङ । बागलुङका पत्रिका वितरक चित्र गोतामेको भिरबाट लडेर मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–४ ओढारचौर निवासी ५५ वर्षीय गोतामेको आइतबार स्याउनेको भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो करिब २ः४० बजे कालीगण्डकी नदीमा बढेको बहावका कारण भएको कटान हेर्न ढिकमा पुगेका गोतामे भिरबाट करिब एक सय मिटर तल खस्नुभएको थियो ।
भिरबाट खसेपछि स्थानीयले उद्धार गरी उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्याएका थिए । अस्पताल पुर्याइएका गोतामेलाई चिकित्सकले मृत घोषणा गरेको स्थानीय माधव शर्माले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
गोतामेले लामो समयदेखि बागलुङ बजारमा पत्रिका वितरण गर्दै आउनुभएको थियो । उहाँले ज्ञानकुञ्ज पुस्तक पसल तथा लालचन्द्र–राजेशचन्द्र राजभण्डारीको पुस्तक पसलबाट पत्रिका लिएर बागलुङ बजारमा वितरण गर्ने गर्नुभएको थियो ।
बागलुङ बजारमा पत्रिका वितरणमार्फत लामो समयदेखि सञ्चार सामग्री पाठकसम्म पुर्याउँदै आउनुभएका गोतामेको निधनले स्थानीय पत्रिका वितरण क्षेत्रमा समेत क्षति पुगेको छ ।
उहाँको बागलुङ नगरपालिका–४ स्थित छिपछिपे पानीघाटमा सोमबार अन्त्येष्टि भइरहेको छ ।
तस्वीर : सृजना पन्त
















































































































































































