१२ आश्विन २०८३, सोमबार

 

बाढीले खानेपानीका पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार

- भोलिसम्म अस्थायी रूपमा भए पनि पानी वितरण गर्छौं’ : अध्यक्ष जिसी

बागलुङ । केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार भएको छ। बागलुङ बजारका उपभोक्ताले आइतबारदेखि नियमित रूपमा खानेपानी उपभोग गर्न पाएका छैनन्।

अविरल वर्षाका कारण बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै खोलामा आएको बाढीले बागलुङ बजारमा वितरण हुने मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको छ। त्यस्तै कैलामपोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा ट्याङ्की र मुश्यास्वारा ट्याङ्कीतर्फ लगिएको पाइपमा समेत क्षति पुगेको छ।

बानपा–९ तित्याङ र बानपा–१० भुकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारतर्फ ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँडीखोलाको मुहानबाट ल्याइएको खानेपानीको पाइपमा समेत बाढीले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ।

संस्थाका सचिव जीवन आचार्यका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चारवटै मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले ठाउँ–ठाउँमा पाइप बगाउनुका साथै पाइपलाइनमा क्षति पुगेको उहाँले बताउनुभयो।

रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ। रेशको खोलाको मुहानबाट ल्याइएको पाइपलाइनमा मात्रै विभिन्न १२ स्थानमा क्षति पुगेको संस्थाले जनाएको छ। कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने अवस्था रहेको आचार्यले बताउनुभयो।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’का अनुसार रिठेखोलाबाट ल्याइएको पाइपको मर्मत कार्य सम्पन्न भइसकेको छ। त्यसबाट मंगलबारसम्म श्रीनगर टोल र उपल्लाचौर क्षेत्रमा पानी वितरण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।

“बाढीले मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि नियमित पानी वितरणमा समस्या आएको हो,” जिसीले भन्नुभयो, “भोलि साँझसम्म बागलुङ बजारका विभिन्न टोलमा अस्थायी रूपमा भए पनि पानी वितरण गर्ने व्यवस्था मिलाउँदैछौँ।”

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामार्फत बागलुङ नगरपालिकाका वडा नम्बर १ देखि ४ सम्मका करिब ४ हजार ५ सय उपभोक्ताले खानेपानी उपभोग गर्दै आएका छन्। बाढीका कारण मुख्य मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि ठूलो संख्यामा उपभोक्ता प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung