बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन तथा प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशन बागलुङ बजारमा सुरु हुन लागेको छ। क्षेत्रीय सभापतिका लागि खड्कबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गरेसँगै दुवै पक्षले आफ्नो टिम निर्माण र समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। उनीहरूले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका थापा र पार्टीको वडा समितिबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठबीच क्षेत्रीय सभापतिका लागि प्रतिस्पर्धा हुने भएको हो।
क्षेत्रीय प्रतिनिधि, गाउँ तथा नगर सभापति र वडा सभापतिहरूको सहभागिता रहने अधिवेशन बागलुङ नगरपालिका–२ स्थित ब्राउन आइज पार्टी प्यालेसमा हुँदैछ।
क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माका अनुसार अधिवेशनमा १ हजार २ सय १५ जना क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिन लागेका छन् ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पा खड्काले गर्ने कार्यक्रम छ।
क्षेत्रीय अधिवेशनले सभापतिसहित २३ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित गर्नेछ। कांग्रेसको विधानअनुसार निर्वाचित कार्यसमितिले थप ६ जना सदस्य मनोनित गर्ने व्यवस्था छ।
अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित हुनेछन्। साथै, गण्डकी प्रदेश ‘क’ र ‘ख’ को प्रदेश महाधिवेशनका लागि आवश्यक प्रतिनिधि पनि अधिवेशनबाट चयन गरिनेछ।
















































































































































































