बागलुङ । निसीखोला गाउँपालिकाले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ।
असोज ११ गते आइतबार निसीखोलामा आएको बाढी तथा पहिरोबाट क्षति पुगेपछि गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल नगद राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण क्षति भएका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो।
निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ। यस्तै, २४ घरमा पूर्ण क्षति भएको छ भने २१ घर जोखिममा परेका छन्।
गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ, पूर्ण क्षति भएका परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ।
पाँच जना मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले २ लाख ५० हजार रुपैयाँ, पूर्ण क्षति भएका २४ परिवारलाई ३० हजार रुपैयाँका दरले ७ लाख २० हजार रुपैयाँ तथा जोखिममा रहेका २१ परिवारलाई १० हजार रुपैयाँका दरले २ लाख १० हजार रुपैयाँ राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराई उनीहरूको दैनिकी सहज बनाउन आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।
















































































































































































