बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं १ बाट सृष्टी आचार्यले युवा महिला महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
३५ वर्षमुनिको युवा महिला कोटाबाट उम्मेदवारी दिएकी आचार्यले पार्टीमा युवा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।
कांग्रेसले महाधिवेशनमा युवा तथा महिलाको सहभागिता बढाउँदै नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न तहमा प्रतिनिधित्वको व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार आचार्यले बागलुङ क्षेत्र नं। १ बाट युवा महिला कोटामा उम्मेदवारी दिएकी हुन्।
पार्टी संगठनमा युवा महिलाको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्न आफू चुनावी मैदानमा उत्रिएको आचार्यले बताएकी छन्। उनले कांग्रेसभित्र पुस्तान्तरण, संगठन सुधार र युवा सहभागिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“युवा पुस्ताको आवाज पार्टी संगठनमा प्रभावकारी रूपमा स्थापित गर्न र नेतृत्व विकासको अवसर सुनिश्चित गर्न मेरो उम्मेदवारी हो,” आचार्यले भनेकी छन्।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय भएकी आचार्यले धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। उनी स्ववियु अध्यक्ष पदका लागि समेत उम्मेदवार बनेकी थिइन्।
विद्यार्थी राजनीतिबाट संगठनात्मक अनुभव हासिल गरेकी आचार्यले पार्टीको मूल संगठनमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेतृत्व, पुस्तान्तरण, महिलाको सहभागिता र पार्टी रूपान्तरणका विषयमा बहस भइरहेका बेला बागलुङ–१ बाट युवा महिला कोटामा आचार्यको उम्मेदवारीले पार्टीभित्र युवा महिलाको प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याएको छ।
















































































































































































