बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ–पर्वत जोड्ने मालढुङ्गा मोटरेबल पुलको पहुँच सडकमा क्षति पुर्याएपछि सोमबारदेखि मर्मतको काम सुरु गरिएको छ।
अविरल वर्षापछि आएको बाढीले पुलको पर्वततर्फको जोडिएको भागमा कटान गरेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट प्रभावित भएको थियो। बागलुङको यातायात र आपूर्ति व्यवस्थाको मुख्य लाइफलाइनका रूपमा रहेको मालढुङ्गा पुलमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित आवतजावतसमेत प्रभावित भएको छ।
बाढीले पुलको मुख्य संरचनामा क्षति नपुर्याए पनि पुलसँगै जोडिएको वाल फिलिङ क्षेत्रमा कटान गरेको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। तत्कालका लागि पर्खाल निर्माण गरी फिलिङ गरेर पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले बताउनुभयो।
“पुलको संरचनामा क्षति पुगेको छैन। पुलसँग जोडिएको भागमा कटान भएको हो। अहिले अस्थायी रूपमा पर्खाल लगाएर फिलिङ गरी यातायात सञ्चालनमा ल्याउने गरी काम सुरु गरेका छौँ,” अधिकारीले भन्नुभयो।
दशैंअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पानीको बहाव घटेपछि मात्र पुलको स्थायी मर्मत तथा संरक्षणको काम गर्न सकिने भएकाले तत्काल यातायात सञ्चालनका लागि अस्थायी संरचना निर्माण गर्न लागिएको सडक डिभिजनले जनाएको छ।
मालढुङ्गा पुल हुँदै बागलुङतर्फको कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गमा सञ्चालन हुने यातायातका साधन पर्वत हुँदै पोखरा तथा म्याग्दी–मुस्ताङसम्म आवतजावत गर्ने गरेका छन्।
यसैबीच, नयाँ पुल नजिकैको सडक मर्मत सम्पन्न भएपछि म्याग्दीतर्फ सिधा यातायात सञ्चालन हुन थालेको छ। मालढुङ्गा पुलको मर्मत कार्यलाई मंगलबारदेखि थप तीव्रता दिइने सडक डिभिजन पोखराले जनाएको छ।
















































































































































































