१४ आश्विन २०८३, बुधबार

 

चार दिनदेखि बागलुङ बजारमा खानेपानी वितरण ठप्प, आजदेखि आपूर्ति सुचारु गर्ने तयारी

बागलुङ । अविरल वर्षा र बाढीका कारण खानेपानीका मुहान तथा मुख्य पाइपलाइनमा क्षति पुगेपछि बागलुङ बजारमा चार दिनदेखि खानेपानी आपूर्ति प्रभावित भएको छ। असोज ११ गतेदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा बजारवासी र सर्वसाधारणलाई समस्या भएको हो। जस्ले गर्दा उपभोक्ताले महँगोमा पानी किन्न बाध्य भएका छन् ।

बाढीका कारण काठेखोला गाउँपालिकास्थित भुँडीखोलाको मुहानदेखि बागलुङ बजारसम्म आउने मुख्य पाइपलाइनका विभिन्न स्थानमा क्षति पुगेको थियो। भुँडीखोलाको मुहानदेखि दोबिल्लासम्मको पाइप मर्मत गरिए पनि दोबिल्लादेखि बागलुङ बजारतर्फ आउने पाइपमा क्षति पुगेपछि मर्मतको काम भइरहेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ का अनुसार दोबिल्लादेखि बागलुङ बजारमा पानी ल्याउने काम अन्तिम चरणमा पुगेको छ। मर्मतका लागि  सशस्त्र प्रहरीको समेत सहयोग लिइएको र बुधबार साँझसम्म बजारमा पानी वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

‘दोबिल्लादेखि बजारसम्मको पाइपलाइन मर्मत भइरहेको छ। आज पानी बजारमा ल्याउने तयारी गरेका छौँ,’ जिसीले भन्नुभयो, ‘साँझसम्म पानी वितरण गर्न सकिने अपेक्षा गरेका छौँ।’

यसैबीच, रात्माटा खानेपानी उपभोक्ता संस्थाले उपभोग गरिरहेको खानेपानी ओभरफ्लो भएर जाने पानीलाई समेत राति बागलुङ बजारमा ल्याउने प्रयास भइरहेको संस्थाले जनाएको छ।

हनुमानमौवानजिकै, रिठेखोलाको मुहान र रेशको खोलाको मुहानलगायत विभिन्न स्थानमा बाढीले खानेपानीका पाइप बगाउनुका साथै क्षति पुर्‍याएपछि अहिले पनि मर्मत तथा पाइप जडानको काम भइरहेको छ।

यसैबीच, सशस्त्र प्रहरी र खानेपानी संस्थाका कर्मचारीको सहयोगमा रात्माटा खानेपानीको ओभरफ्लो भएर जाने पानी मुश्यास्वारा ट्याङ्कीमा ल्याइएको छ। उक्त पानीलाई बागलुङ बजारमा वितरण गर्ने तयारी भइरहेको छ।

अविरल वर्षा र बाढीका कारण बागलुङ नगरपालिका–३ हनुमानमौवानजिकै खोलामा आएको बाढीले बजारमा वितरण हुने मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको थियो। त्यस्तै कैलामपोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वारा ट्याङ्कीतर्फ लगिएको पाइपमा समेत क्षति पुगेको छ।

बागलुङ नगरपालिका–९ तित्याङ र वडा नं १० भुकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारतर्फ ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँडीखोलाको मुहानबाट ल्याइएको पाइपमा समेत बाढीले क्षति पुर्‍याएको थियो। विभिन्न मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि बजारमा खानेपानी आपूर्ति ठप्पजस्तै भएको हो।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामार्फत बागलुङ नगरपालिकाका वडा नं १ देखि ४ सम्मका करिब ४ हजार ५ सय उपभोक्ताले खानेपानी उपभोग गर्दै आएका छन्। मुख्य मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि ठूलो संख्यामा उपभोक्ता प्रभावित भएका छन्।

चार दिनदेखि धारामा नियमित पानी नआएपछि बजारवासी महँगो मूल्यमा पानी किन्न बाध्य भएका छन्। खानेपानीको अभावले अस्पताल, उद्योग, होटल तथा रेष्टुरेन्टलगायतका व्यवसाय तथा सेवा क्षेत्रसमेत प्रभावित भएका छन्। दैनिक उपभोगका लागि आवश्यक पानीको जोहो गर्न सर्वसाधारण वैकल्पिक स्रोतमा निर्भर हुनुपरेको छ।

मर्मत कार्य पूरा गरी आज साँझदेखि पानी आपूर्ति सुचारु गर्ने तयारीमा बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्था जुटेको छ।

तस्बिर इपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung