१४ आश्विन २०८३, बुधबार

 

युवा नेता सापकोटा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

बागलुङ — विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता सुजन सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागलुङ क्षेत्र नं १ बाट युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्।

नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका सापकोटाले कृषि तथा वन विज्ञान विश्वविद्यालय, पुरन्चौर कृषि क्याम्पसको सभापतिदेखि विश्वविद्यालय समन्वय समितिसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यका रूपमा समेत सक्रिय रहँदै आएका छन्।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सापकोटाले पछिल्लो तीन वर्षदेखि बागलुङमा ‘बाँझो नराखौँ खेतबारी’ लगायतका कृषि अभियान सञ्चालन गर्दै आएका छन्। अभियानमार्फत बाँझो जमिनको उपयोग, कृषि प्रविधिको विस्तार, माटो परीक्षण, फलफूल तथा अन्य कृषि उत्पादनको प्रवर्द्धन र कृषकसँग प्राविधिक साझेदारीलाई जोड दिइएको उनले बताएका छन्।

सापकोटा विभिन्न सामाजिक संस्थासँग आबद्ध रही नेतृत्व तथा सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। साथै, नीति निर्माणसम्बन्धी विभिन्न फोरम तथा छलफलमा सहभागी हुँदै कृषि, युवा तथा सामाजिक विकासका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै आएका छन्।

कृषि तथा युवा क्षेत्रसँगको आफ्नो अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएको सापकोटाले बताएका छन्। उनले युवा पुस्ताको सहभागिता, कृषि उद्यमशीलता, रोजगारी सिर्जना, स्थानीय स्रोतको उपयोग तथा नीति निर्माणमा युवाको अर्थपूर्ण उपस्थितिलाई प्राथमिकताका विषयका रूपमा अघि सारेका छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको सापकोटाको राजनीतिक यात्रा कृषि अभियान, सामाजिक नेतृत्व र नीति निर्माणका विभिन्न मञ्च हुँदै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा प्रतिनिधित्वको उम्मेदवारीसम्म आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung