बागलुङ । सापकोटा परिवारले टिकाराम सापकोटाको स्मृतिमा बाढीपहिरो प्रभावित विपन्न परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
सापकोटाको १५औँ दिनको पुण्यतिथिको अवसरमा परिवारले पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढीपीडित परिवारलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो।
गत साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले बुबाको स्मृतिमा रकम प्रदान गर्न लागिएको छोरा चुडामणि सापकोटाले जानकारी दिनुभयो।
चुडामणि सापकोटा लायन्स क्लब अफ युनियनका अध्यक्ष तथा नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हुनुहुन्छ। सहयोगमा श्रीमती लिलावती सापकोटाको श्रीमान, छोराबुहारीहरु झपिन्द्र सापकोटा, अम्बिका सापकोटा, भुपेन्द्र सापकोटा र कल्पना सापकोटाको सहभागिता रहेको छ।
पूर्वप्रधानपञ्च, पूर्वजिल्ला विकास समिति सभापति, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वजिल्ला सभापति, कालिका भगवती गुठी व्यवस्थापन समितिका पूर्वअध्यक्ष, शिक्षासेवी तथा समाजसेवी सापकोटाको ९१ वर्षको उमेरमा गत असोज ४ गते निधन भएको थियो।
पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजारमा बाढीका कारण ६६ घरमा क्षति पुगेको छ भने २५ घर उच्च जोखिममा रहेका छन्। सोही क्षेत्रका बाढीपीडित तथा प्रभावित विपन्न परिवारलाई सहयोग पुग्ने गरी सापकोटा परिवारले उक्त रकम प्रदान गर्न लागेको हो।
















































































































































































