बागलुङ । निसीखोला गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारलाई नगद तथा खाद्यान्नसहितको राहत उपलब्ध गराएको छ।
असोज ११ गते आएको बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति भएपछि गाउँपालिकाले प्रभावित परिवारलाई क्षतिको अवस्थाका आधारमा वर्गीकरण गरी राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको हो।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको हो।
गाउँपालिकाले विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ।
बाढीपहिरोमा ज्यान गुमाएका पाँच जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले नगद राहत प्रदान गरिएको छ। त्यस्तै, घरमा पूर्ण क्षति भएका २४ परिवारलाई ३० हजार रुपैयाँका दरले र घरमा आंशिक क्षति पुगेका तथा जोखिममा रहेका २१ परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
निसीखोलामा बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति पुगेको र २१ घर जोखिममा रहेका छन्।
नगद सहयोगसँगै प्रभावित परिवारलाई चामल, त्रिपाललगायतका राहत सामग्री समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
















































































































































































