१७ आश्विन २०८३, शनिबार

 

सेनाको सहयोगमा बागलुङ बजारको खानेपानी पाइप मर्मत, आपूर्ति सुधारिँदै

बागलुङ । बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएपछि नेपाली सेनाको सहयोगमा मर्मत तथा पुनःजडान गरिएको छ।

असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–९ स्थित रिठेखोलाबाट बजारमा ल्याइएको खानेपानीको पाइप काठेखोलाको जोखिमपूर्ण स्थानमा क्षति पुगेको थियो। उक्त पाइप नेपाली सेनाको कालिजंग गण, घोडाबाँधेको टोलीले दुई दिन लगाएर मर्मत तथा पुनःजडान गरेको हो।

कालिजंग गण, घोडाबाँधे ब्यारेकका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीका अनुसार मर्मत गरिएको पाइपबाट प्रतिसेकेन्ड चार लिटर पानी आपूर्ति भइरहेको छ। काठेखोलामाथिको जोखिमपूर्ण स्थानमा सेनाको प्राविधिक टोली परिचालन गरी पाइप जडान गरिएको उहाँले बताउनुभयो।

बाढी, पहिरो तथा भू–क्षयका कारण खानेपानीका पाइप र अन्य संरचनामा क्षति पुगेपछि बागलुङ बजारमा नियमित खानेपानी आपूर्ति अवरुद्ध भएको थियो। नगर खानेपानी तथा उपभोक्ता संस्थाको जनशक्ति पर्याप्त नभएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बागलुङ नगरपालिकाको नगर प्रहरीको सहयोगमा क्षतिग्रस्त संरचना मर्मतको काम भइरहेको छ।

बागलुङ बजारमा दैनिक करिब ३५ लाख लिटर पानी खपत हुने गरेकोमा शुक्रबारदेखि करिब २० लाख लिटर पानी आपूर्ति हुन थालेपछि खानेपानीको समस्या केही सहज हुँदै गएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले बताउनुभयो।

हाल तित्याङको रिठेखोला, कैलामपोखरीबाट लिफ्टमार्फत तथा रेशबाट बागलुङ बजारमा पानी आपूर्ति भइरहेको छ। भुँदी खोलाबाट पानी ल्याउने संरचनामा ठूलो पहिरो गएकाले त्यहाँबाट पानी आपूर्ति गर्न भने अझै केही समय लाग्ने जिसीले बताउनुभयो।

खानेपानीको अभाव भएपछि रातामाटा उपभोक्ता संस्था र पाखाथर उपभोक्ता संस्थाको ओभरफ्लो पानी नगर खानेपानीको ट्याङ्कीमा ल्याएर वितरण भइरहेको छ। सुल्डाडाको रिजर्भ ट्याङ्कीबाट बागलुङको मुख्य बजार, गुठी र रामरेखा क्षेत्रमा पानी वितरण भइरहेको छ भने रातामाटाको पुरानो ट्याङ्कीबाट श्रीनगरटोल, उपल्लाचौर र वडारचौर क्षेत्रमा पानी वितरण भइरहेको छ।

खानेपानीको अभावका कारण बजार क्षेत्रको जनजीवन प्रभावित भएपछि बागलुङ नगरपालिकाले दमकलमार्फत समेत वैकल्पिक रूपमा पानी वितरण गरेको थियो। पर्याप्त पानी उपलब्ध हुन नसक्दा दमकलबाट पानी लिन स्थानीयवासीको भीडसमेत लाग्ने गरेको थियो।

पाइप तथा खानेपानीका अन्य संरचना मर्मत हुँदै गएसँगै बजारमा पानीको आपूर्ति क्रमशः सहज बन्दै गएको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung