१७ आश्विन २०८३, शनिबार

 

मालढुङ्गा पुलमा किन राखिएन बेलीब्रिज ? यस्तो छ प्राविधिक कारण

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले मालढुङ्गास्थित कालीगण्डकी पुलको पर्वततर्फको एप्रोच सडक बगाएपछि पुल पुनः सञ्चालनका लागि मर्मत कार्य तीव्र पारिएको छ।

एप्रोच सडक बगेसँगै तत्काल यातायात सञ्चालनका लागि बेलीब्रिज राख्ने विकल्प अघि सारिए पनि प्राविधिक जोखिमका कारण उक्त विकल्प कार्यान्वयन नगरी ग्याबिन भर्ने र माटो पुर्ने काम भइरहेको छ।

एप्रोच सडक बगाएपछि यातायात सञ्चालन सहज बनाउन बेलीब्रिज राख्ने विषयमा प्राविधिक अध्ययन गरिएको थियो। अध्ययनका क्रममा बेलीब्रिजबाट उत्पन्न हुने केन्द्रित ९पोइन्ट० भारले विद्यमान पुलको संरचनामा अतिरिक्त दबाब पर्न सक्ने देखिएपछि बेलीब्रिज नराख्ने निर्णय गरिएको हो।

चिनियाँ प्रविधिमा निर्मित आर्च संरचनाको उक्त पुलको डेक, स्प्यान्ड्रेल तथा आर्च रिबमा बेलीब्रिजको भार केन्द्रित हुने अवस्था देखिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार पुल निर्माणका क्रममा परिकल्पना नगरिएको अतिरिक्त भार थपिँदा दीर्घकालीन रूपमा पुलको संरचनात्मक सुरक्षामा असर पर्न सक्ने जोखिम देखिएको हो। त्यसैले अस्थायी रूपमा बेलीब्रिज राख्नुभन्दा पुलको मूल संरचनामा असर नपर्ने गरी क्षतिग्रस्त एप्रोच सडक पुनःनिर्माणलाई प्राथमिकता दिइएको हो।

“एप्रोच सडक मात्रै क्षति भएको अवस्थामा बेलीब्रिज राख्दा पुलको मूल संरचनामै अतिरिक्त भार पर्ने जोखिम देखियो। त्यसैले सुरक्षित विकल्पका रूपमा एप्रोच सडक पुनःस्थापना गर्न लागिएको हो,” प्राविधिक अधिकारीहरूको भनाइ छ।

हाल पुलको पर्वततर्फको क्षतिग्रस्त भागमा ग्याबिन भर्ने, माटो पुर्ने तथा सडक पुनःनिर्माणको काम भइरहेको छ। एक साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। कामको गति अपेक्षाअनुसार अघि नबढ्दा दशैँअघि नै पुल पूर्ण रूपमा सञ्चालनमा ल्याउन चुनौती देखिएको छ।

बागलुङलाई पर्वत, म्याग्दी, मुस्ताङ तथा पोखरालगायतका क्षेत्रसँग जोड्ने मालढुङ्गा पुल बागलुङको मुख्य ‘लाइफलाइन’ का रूपमा रहेको छ। पुल अवरुद्ध हुँदा यातायात आवागमनसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। बिरामी तथा अत्यावश्यक सेवाका लागि आवतजावत गर्ने नागरिकसमेत समस्यामा परेका छन्।

दशैँअघि पुल सञ्चालनमा ल्याउने लक्ष्य भए पनि हालको कामको ढिलो प्रगतिअनुसार तोकिएको समयमै काम सम्पन्न हुनेमा चुनौती देखिएको छ। क्षतिग्रस्त एप्रोच सडकको पुनःनिर्माणमा अझै करिब दुई साता लाग्न सक्ने प्राविधिकहरूको अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung