बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागलुङ नगर समिति वडा नं. ४ को पार्टी समितिको बैठक सम्पन्न भएको छ।
सोमबार बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित पार्टी कार्यालयमा बसेको बैठकले वडा संगठनको अवस्थाबारे समीक्षा गर्दै संगठन विस्तार र जनसरोकारका विषयमा विभिन्न निर्णय गरेको छ।
बैठकले सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने, वडाका प्रत्येक टोलमा संगठन विस्तार गर्ने तथा नियमित वैचारिक विमर्शका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको वडा पार्टी अध्यक्ष यामलाल आचार्यले जानकारी दिनुभयो।
यस्तै, ताराखोला, निसीखोलालगायतका क्षेत्रमा अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्न आर्थिक संकलन अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको आचार्यले बताउनुभयो।


बैठकमा नेकपा प्रदेश सदस्य माधव शर्मा, प्रदेश सदस्य रामबहादुर विक, नगर इन्चार्ज कुमारविक्रम क्षेत्री र नगर सदस्य दुर्गाबहादुर विकले संगठन सुदृढीकरण तथा वैचारिक गतिविधिको विषयमा धारणा तथा सुझाव राख्नुभएको थियो।
बैठक वडा पार्टी अध्यक्ष यामलाल आचार्यको अध्यक्षता र सचिव हेमलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
यसैबीच, वडा नं –४ को पार्टी कार्यालय गत फागुन २१ गतेको संघीय निर्वाचनका क्रममा नेकपा र राष्ट्रिय जनमोर्चाको सम्पर्क कार्यालयका रूपमा सञ्चालनमा आएको थियो।
निर्वाचनपछि उक्त कार्यालयलाई नेकपा वडा नं ४ को नियमित पार्टी कार्यालयका रूपमा सञ्चालन गरिँदै आएको वडा पार्टीले जनाएको छ।
















































































































































































