२२ आश्विन २०८३, बिहीबार

 

मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढीका कारण क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुललाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्गमा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको सडकको अवस्था अवलोकन गर्न मालढुङ्गा पुग्नुभएका ढकालले पुल पश्चिम नेपालकै महत्वपूर्ण ‘लाइफलाइन’ भएकाले शीघ्र मर्मत गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो।

“मालढुङ्गा पुल राष्ट्रिय महत्वको पुल हो । यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो, “कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै सञ्चालनमा आउने देखिएको छ। यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज बन्नेछ।”

उहाँले मालढुङ्गा पुल एउटा संरचना मात्र नभई बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सेतु भएको बताउनुभयो। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको संगमस्थलका रूपमा रहेको यस मार्गले बागलुङसँगै रुकुम, रोल्पालगायतका जिल्लालाई समेत सडक सञ्जालमा जोड्ने भएकाले पुलको शीघ्र सञ्चालन आवश्यक रहेको उहाँको भनाइ थियो।

ढकालले अहिले वैकल्पिक मार्गबाट जिल्लासँगको आवागमन भइरहेको भन्दै स्थानीय सरकार र व्यवसायीले वैकल्पिक सडकका बारेमा यात्रु तथा पर्यटकलाई पर्याप्त सूचना दिनुपर्ने बताउनुभयो।

“बाटो अलिकति असहज भए पनि जिल्लाको सम्पर्क नै विच्छेद भएको रहेनछ,” उहाँले भन्नुभयो, “वैकल्पिक मार्गका बारेमा स्थानीय यात्रु तथा पर्यटकलाई पर्याप्त सूचना तथा जानकारी दिऔँ। जतिसक्दो चाँडो पुल निर्माणका लागि सबैले हातेमालो र सहयोग गरौँ।”

सडक डिभिजन कार्यालय पोखराका अनुसार पुललाई आगामी बडादसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मतको काम भइरहेको छ। पुलको पहुँचमार्गमा क्षति पुगेपछि हाल बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोग भइरहेको छ।

चाडपर्व र पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा–बेनी हुँदै बागलुङ तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ आउने मार्ग प्रयोगमा ल्याइएको छ। एक सय १४ मिटर लामो पुलको पहुँचमार्गको करिब ३० मिटर सडकमा बाढीले क्षति पुर्‍याएपछि मुख्य सडकबाट हुने आवागमन प्रभावित भएको हो।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि सुवेदीले पुलको मर्मत कार्यलाई तीव्रता दिइएको बताउनुभयो।

“दसैँअघि नै पुल सञ्चालनमा आउँछ,” उहाँले भन्नुभयो, “त्यसपछि बागलुङसहित रुकुमपश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन्।”

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुङ्गा मोटरेबल पुलको मर्मत जियोब्याग र जियोग्रेड प्रविधिबाट २४सै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो।

चाडपर्व नजिकिँदै गर्दा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामग्रीको आपूर्तिमा असर पर्न थालेकाले २४सै घण्टा काम गरेर भए पनि पुल छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार वैकल्पिक मार्गबाट बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत सामग्रीको आपूर्ति भइरहेको छ। वैकल्पिक मार्ग प्रयोगका बारेमा स्थानीय, पर्यटक तथा अन्य यात्रुलाई समेत जानकारी दिइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung