बागलुङ । बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुल सोमबार बिहानदेखि सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको एप्रोच सडक कटान गरेपछि असोज ११ गतेदेखि बन्द भएको पुल १६ दिनको मर्मतपछि पुनः सञ्चालनमा आएको हो।
पुल बन्द हुँदा बागलुङदेखि पश्चिम क्षेत्र जोड्ने मुख्य सडक अवरुद्ध भएको थियो। यसबाट विरामीलाई उपचारमा समस्या आउनुका साथै यातायात, ढुवानी, व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको थियो। दशैंअघि सञ्चालनमा ल्याउने लक्ष्यका साथ पुल मर्मतको काम त्र्रीब ढंगले अगाडि बढ््ेको थियो ।
अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फ जोडिएको एप्रोच सडक तथा पुलसँगै रहेको वाल फिलिङ क्षेत्रमा कटान गरेको थियो। बाढीले पुलको मुख्य संरचनामा भने क्षति पुर्याएको थिएन।
पुलको जोडिएको भागमा कटान भएपछि सडक सञ्चालनमा कठिनाइ भएको थियो। मर्मतसम्भारपछि सोमबार बिहानदेखि पुल सञ्चालनमा आएसँगै बागलुङबाट पश्चिमतर्फ हुने आवागमन सहज हुने अपेक्षा गरिएको छ।
मालढुङ्गा पुल बागलुङलाई पश्चिम क्षेत्र, रुकुम रोल्पासँग जोड्ने प्रमुख मार्गमा पर्ने भएकाले यसको सञ्चालनले यात्रु, व्यवसायी, ढुवानीकर्ता तथा पर्यटन व्यवसायीलाई राहत पुग्ने देखिएको छ।
तस्बिर : सिर्जना पन्त
















































































































































































