बागलुङ । नेपाल बैंक लिमिटेड बागलुङ शाखाले सोमबारदेखि दसैंका लागि नयाँ नोट सटही गर्न थालेको छ। नयाँ नोट साट्न बैंकमा सर्वसाधारणको घुइँचो लागेको छ।
दसैं सुरु भएसँगै नयाँ नोट सटही गर्न थालिएको नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रबन्धक कृष्ण कुँवरले नयाँ विश्वलाई जानकारी दिनुभयो। उहाँका अनुसार एक जना व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ।
नेपाल बैंकले विगत दुई महिनादेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको र बागलुङस्थित सबै बैंकले यो सुविधा ग्राहकलाई उपलब्ध गराइरहेको प्रबन्धक कुँवरले बताउनुभयो ।
बैंकले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारणलाई पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मका नयाँ नोट सटही गरिरहेको जनाएको छ। दसैंमा टीका लगाउँदा दक्षिणा दिन नयाँ नोट प्रयोग गर्ने प्रचलन रहेकाले नोट साट्न आउनेको चाप बढेको हो।
नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गरी १० अर्ब रुपैयाँभन्दा बढीका नयाँ नोटको व्यवस्था गरेको छ। विगतका वर्षमा दसैं, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा सातदेखि आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही हुने गरेको थियो।


















































































































































































