बागलुङ । असोज ११ गते ताराखोलामा आएको बाढीले अवरूद्व गलकोट–ताराखोला सडक पुन सुचारू भएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक असोज ११ गतेदेखि अवरूद्व भएको थियो ।
गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायीरूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बिकले बताउनुभयो ।
दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पु-याएको थियो । बाढीले सडकको ट्र्याक नै बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्क विच्छेद भएको थियो ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो । सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
















































































































































































