पर्वत । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कालीगण्डकी नदीमा आएको बाढी तथा नदी कटानबाट प्रभावित आफ्ना १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ।
गत असोज ११ गते आएको बाढीका कारण प्रभावित जलजला गाउँपालिका–८, फर्सेका १२ जना र वडा नं ४ का दुई जना सदस्यलाई जनही पाँच हजार रुपैयाँका दरले राहत प्रदान गरिएको हो। सिवाईसी साकोसको जलजला सदस्य सेवा केन्द्रमार्फत कुल ७० हजार रुपैयाँ राहत वितरण गरिएको संस्थाले जनाएको छ।
राहत रकम जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिविकास जिसी, सिवाईसी साकोसका केन्द्रीय सञ्चालक समितिका सहसचिव सुवास आचार्य, जलजला सेवा केन्द्र उपसमिति संयोजक इन्द्रप्रसाद आचार्य, सहसंयोजक पुष्पाकुमारी केसी, सचिव चित्रलाल रेग्मीलगायतले प्रभावित सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष जिसीले प्राकृतिक विपद्का कारण घरबास गुमाएका सदस्यलाई राहत उपलब्ध गराएर सहकारीले सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको उदाहरण प्रस्तुत गरेको बताउनुभयो।
सिवाईसी साकोसका सहसचिव सुवास आचार्यले सहकारीका शेयर सदस्य स्वयं बसोबास गर्ने घर प्राकृतिक विपत्तिका कारण क्षति भएमा क्षतिको प्रकृतिअनुसार आवास सुरक्षा सुविधा उपलब्ध गराउने नीतिगत व्यवस्थाअनुसार राहत प्रदान गरिएको जानकारी दिनुभयो।
त्यस्तै, विपद् व्यवस्थापन उपसमितिका संयोजक तथा सेवा केन्द्रका सचिव चित्रलाल रेग्मीले प्राकृतिक विपत्तिबाट प्रभावित शेयर सदस्यको पुनःस्थापनामा सहकारीले सहयोग गर्दै आएको बताउनुभयो।
कार्यक्रम जलजला सेवा केन्द्र उपसमिति संयोजक इन्द्रप्रसाद आचार्यको अध्यक्षता तथा सेवा केन्द्र प्रमुख बद्रीप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।


















































































































































































