२ कार्तिक २०८३, आईतवार

 

बागलुङ उद्योग वाणिज्य संघले दियो कैदीबन्दीलाई दशैँमा खसी उपहार

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले विजया दशमीको अवसरमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीलाई खसी र चिउरा उपहार प्रदान गरेको छ। संघले आइतबार कारागारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कैदीबन्दीका लागि एक थान खसी र चिउरा हस्तान्तरण गरेको हो।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आपसी भाइचाराको अवसर भएको बताउनुभयो। कारागारमा रहेका कैदीबन्दीलाई चाडपर्वको अनुभूति गराउन संघले गरेको सहयोगले उनीहरूमा सकारात्मक भावना विकास गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो। उहाँले चाडपर्वका बेला कैदीबन्दीमाझ खुसी बाँड्ने उद्देश्यले गरिएको सहयोगको प्रशंसा गर्नुभयो।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले परिवारबाट टाढा रहेर कारागारमा जीवन बिताइरहेका कैदीबन्दीलाई चाडपर्वका बेला थोरै भए पनि खुसी प्रदान गर्ने उद्देश्यले खसी उपहार दिइएको बताउनुभयो। उहाँले कारागारमा रहेका कैदीबन्दीलाई दशैँका अवसरमा खसी प्रदान गर्ने २०५४ सालदेखिको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सहयोग गरिएको जानकारी दिनुभयो।

संघको सहयोगले कारागारमा रहेका कैदीबन्दीलाई विजया दशमी मनाउन सहज हुने अपेक्षा गरिएको छ। चाडपर्वका अवसरमा गरिने यस्ता सहयोगले कैदीबन्दीलाई पनि सामाजिक सद्भाव र आत्मीयताको अनुभूति गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रम को सञ्चालन संघका महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung