७ श्रावण २०८३, बिहीबार

 

मोदी सत्ता हल्लाई रहेको विद्यार्थी आन्दोलनकी नेता नेहा

बागलुङ । केही दिनदेखि भारतको दिल्लीमा नरेन्द्र मोदीको अतिवादी सत्ता विरुद्ध भैरहेको विद्यार्थीहरुको आन्दोलनलाई यसो हेर्ने गरेको छु । युवा विद्यार्थीहरुले दिल्लीको जन्तर मन्तरमा १ महिनादेखी आन्दोलन गरिरहेका छन् । २० जुलाईबाट भने आन्दोलन चर्किएको छ । प्रहरी दमन बढेको छ । सबै विपक्षी राजनीतिक पार्टीहरु पनि सडकमा उत्रेपछि आन्दोलन चर्कदै गएको छ ।

आँखामा सपना र आक्रोश बोकेकी एक युवा विद्यार्थी आन्दोलनको अग्रभागमा उभिएर चर्का नारा लगाउँछिन् । आन्दोलनकारीलाई एकत्रित र प्रष्ट पार्ने गरी मुद्दाहरु उठाइ्छिन् । १२ वर्षदेखि नरेन्द्र मोदी र विजेपी सत्तामा आएपछि जनताले भोगिरहेका पीडा र कष्ट सुनाउने गर्छिन् । उनको भाषणसंगै मासबाट परर तालि बज्छ । अनि झनै जोसिदै दाहिने हात उठाएर मुठ्ठी कसेर अभिवादन गर्छिन् ।

आन्दोलनलाई सशक्त बनाउँदै गरेका उनका छोंटा भाषणका क्लिपहरु सामाजिक सन्जालमा भाइरल छन् । मोदीको सत्ता हल्लाउने गरी भैरहेको आन्दोलनको अग्रभागमा एक युवा विद्यार्थी नेता नेहा बोरा चर्चामा छिन् । दिल्लीको सडकमा आज हजारौं नेहाहरु आन्दोलित छन् ।

२३ दिनसम्म आमरण अनसन बसेर (भुख हड्ताल) त्यागेकी नेहा को हुन् र कसरी आन्दोलन चर्काई रहेकी छन् त ? यसरी आन्दोलनमा उर्जा र उत्साह भर्ने ती युवती होलिन् ?

नेहा वामपन्थी विद्यार्थी राजनीतिसँग आबद्ध छिन् । भारतको वामपन्थी विद्यार्थी संगठन AISA (All India Students’ Association) की उनी राष्ट्रिय अध्यक्ष हुन् । सिलगुढी उनको घर हो । AISA कम्युनिष्ट पार्टी अफ इण्डिया (ML) को विद्यार्थी संगठन हो ।

अम्वेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरेर अहिले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा समाजशास्त्र विषयमा विद्यावारिधि (PhD) की विद्यार्थी नेहाले उठाउने गरेका मुद्दा तथा उनको वाक कलाको चर्चा चुलिदै गएको छ ।

भारतमा बढ्दो बेरोजगारी, असमान शिक्षा, ठुला भ्रष्टाचार काण्ड, मुस्लिम तथा अल्पसंख्यकमाथी चरम दमन, धर्मको नाममा राजनीति, भोट चोरी, दर्जनौ पटक पेपर लिक काण्डबाट पीडित २१ भन्दा बढी नवयुवाको आत्महत्या, राम मन्दिरको भेटी चोरी, किसानमाथी दमन लगायतका सयौं काण्ड विरुद्ध जनता आक्रोशित बनि रहेका छन् ।

प्रहरी दमन बन्द गरिनु पर्ने, पेपर लिक गर्नेको नाइके शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने, आत्म हत्या गर्ने विद्यार्थीका परिवारलाई सरकारले राहात दिनुपर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने लगायतका माग सहित नेहाहरु आन्दोलनमा छन् । तर, अतिवादी मोदी सरकारले विद्यार्थी आन्दोलनको आवाज सुनेको छैन ।

अहिले भैरहेको आन्दोलनका अगुवाहरुमा नेहा, अभिजित दिपके, सोनाम वाङ्चुङ लगायत छन् । वातावरणविद् वैज्ञानिक सोनाम भने २५ दिनदेखि आमरण अनसनमा छन् । दिल्लीको जन्तर–मन्तर आन्दोलनमा २३ दिनसम्म आमरण अनशनमा उनी सहभागी भएकी थिइन् ।

अनशनका क्रममा उनको स्वास्थ्य गम्भीर रूपमा बिग्रिएपछि अस्पताल लगिएको थियो । विस्तारै ठिक भएर आन्दोलनको मोर्चामा फर्केकी छन् । नेहा आमरण अनसनमा रहंदा उनलाई भेट्न र आन्दोलनमा ऐक्यबद्धता जनाउन विख्यात लेखक अरुन्धती रोय, बलिउडका वरिष्ठ /चर्चित कलाकारत्रय नसुरुद्धिन साह, सबाना आजमी र प्रकाश राज, वरिष्ठ राजनीतिक विश्लेषक/अभियन्ता योगेन्द्र यादव लगायत पुगेका थिए ।

नेहाले विशेषगरी विद्यार्थी अधिकार, सार्वजनिक शिक्षाको संरक्षण, विश्वविद्यालय स्वायत्तता, बेरोजगारी, जातीय विभेदविरुद्धको अभियान तथा लोकतान्त्रिक अधिकारका मुद्दामा सक्रिय विद्यार्थी नेताका रूपमा परिचित छिन् । पछिल्लो समयमा सामाजिक सन्जालमा पनि भाइरल भैरहेकी छन् । सामाजिक सन्जालमा उनका लाखौं फलोअर्स छन् ।

नेहा यो आन्दोलनबाटमात्रै उदाएकी नेता भने होइनन् । उनले वर्षौदेखि जनताका आवाज उठाउँदै आएकी छिन् । उनी सामाजिक सञ्जालमा जातीय विभेद, बिल्किस बानो प्रकरण, भीड हिंसा तथा प्यालेस्टाइनको समर्थनजस्ता विषयमा खुलेर धारणा राख्ने गर्छिन् । गाउँ गाउँमा आदीबासीको अधिकारको लागि अभियान चलाउने पनि गर्दै आएकी छन् ।

आन्दोलनमा उठाइएका धेरै मागहरू भारतका विपक्षी दल, केही शिक्षक संगठन र विद्यार्थी संगठनहरूले समर्थन गरेका छन् । विपक्षी कांग्रेस, कम्युनिष्टहरु पनि युवाहरुको आन्दोलनलाई समर्थन गर्दै अघि बढेका छन् । कक्रोज जनता पार्टी शुरुबाटै आन्दोलनमा छ ।

विपक्षी पार्टीका नेता राहुल गान्धी, प्रियंका गान्धी आन्दोलनमा सहभागी हुंदा प्रहरीको दमनमा परेका छन् । भारतभर आन्दोलन चर्कदै गएको छ । यसपाली नेहाहरुको नेतृत्वमा भएको आन्दोलनले मोदी सत्तालाई जरुर हल्लाउने छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung