बागलुङ। बागलुङ नगरपालिकामा सञ्चालित हिंसा प्रभावित सेवा केन्द्रबाट आर्थिक वर्ष २०८२/८३ मा ७१ जना हिंसा प्रभावितले विभिन्न प्रकारका सेवा प्राप्त गरेका छन् ।
नगर उपप्रमुख तथा हिंसा प्रभावित सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काका अनुसार सेवा लिनेमध्ये बागलुङ नगरपालिकाका ३३ जना, जैमिनीका ८, गलकोटका २, ढोरपाटनका ३, काठेखोलाका १०, बडिगाडका २, ताराखोलाका १, तमानखोलाका ३, निसीखोलाका २, बरेङका १ तथा बागलुङ बाहिरका ६ जना रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/ ८२ मा ७२ जना र २०८०/८१ मा ९२ जनाले सेवा लिएका थिए । केन्द्रले ५२ जनालाई आश्रयसहितको सेवा प्रदान गरेको छ । यस्तै पाँच जनालाई यातायात खर्च, छ जनालाई लुगाकपडा, पाँच जनालाई कानुनी उपचार तथा दुई जनालाई जीविकोपार्जन अनुदान उपलब्ध गराइएको छ ।
यस अवधिमा ४ पटक तारेखमा उपस्थिति, पाँच पटक सरोकारवालासँग समन्वय, तीन जनालाई ओसिएमसी सिफारिस, एक जनालाई संरक्षणका लागि सिफारिस, नौ वटा छलफल तथा मिलापत्र, पाँच जनालाई जिल्ला कानुनी सहायता र सात पटक जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरिएको छ ।
खड्काका अनुसार पछिल्लो समय हिंसा प्रभावितहरू आफैं सेवा केन्द्रमा पुगेर सेवा लिने क्रम बढ्दो छ। गत आर्थिक वर्षमा ६० जना सिधै केन्द्रमा पुगेका थिए भने आठ जना जिल्ला प्रहरी कार्यालय र तीन जना ओसिएमसीबाट सिफारिस भएर आएका थिए ।
सेवा लिन आएका घटनामध्ये शारीरिक हिंसाका पाँच, मानसिक हिंसाका ११, आर्थिक हिंसाका सात र यौनजन्य हिंसाका ११ घटना रहेका छन् । सेवा प्राप्त गर्नेमध्ये ४२ जना दलित, सात जना जनजाति र २२ जना अन्य समुदायका थिए ।
हिंसा न्यूनीकरणका लागि बागलुङ नगरपालिकाले मनोसामाजिक परामर्श कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । गत आर्थिक वर्षमा आयोजित सामूहिक मनोविमर्श कार्यक्रममा ७४४ जना सहभागी भएका थिए भने व्यक्तिगत रूपमा २७ महिला र २४ पुरुष गरी ५१ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो ।
नगर उपप्रमुख खड्काका अनुसार हिंसा प्रभावित सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट रु. ५ लाख र प्रदेश सरकारबाट रु. १० लाख गरी कुल रु. १५ लाख खर्च गरिएको छ ।













































































































































































































