नेपाल टेलिकमले अत्याधुनिक थ्रिजी सेवा विस्तारको काम धौलागिरी अञ्चलमा तीव्र रुपमा अघि बढाएको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुराईने नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले बताए । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ टावरबाट थ्रिजी सेवा दिइने कार्यालयले जनाएको छ ।
सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट थ्रिजी सेवा चल्नेछ । यस अघि यहाँ जम्मा ९वटा टावरमा थ्रिजी’ सेवा सञ्चालित थियो । सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा थ्रिजी को पहुँच पुग्ने बताईएको छ । हाल रहेको ‘टुजी’ सेवाको पनि स्तरोन्नति भईरहेको छ ।
थ्रिजी प्रविधि मार्फत भिडियो कल, भ्वाइस च्याटका साथै तीव्र गतिको इन्टरनेट सर्फिङ लगायतका सेवा उपभोक्ताले पाइरहेका छन । टेलिकमले विभिन्न सुविधायुक्त डाटा प्याकेज पनि ल्याएको छ ।
थ्रिजी प्रयोगकर्ताले एक जिबी डाटा लिन रु ५०० मात्र खर्च गर्यो भने एक महिना अवधिसम्मको लागि हुन्छ । यस्तै पाँच जिवी लिँदा रु एक हजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असिमित सेवा लिन सकिने शर्माले बताए । मुस्ताङ जिल्लाको जोमसोम र खैसाङमा भनें गत वर्ष देखिनै थ्रिजी सेवा सुचारु छ ।
अब ५२ वटा टावरमा थप हुने सेवाले चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिकांश ठाउँमा थ्रिजी सेवा पुग्ने जनाइएको छ । सरकारले देशका केही ठाउँमा फोरजी सेवा सञ्चालनमा ल्याए पनि धैलागिरिमा सुरु हुन थप एक वर्ष लाग्ने छ । मोवाईलमा सस्तो दरमा ईन्टरनेट चलाउन *1415# डायल गरि आफूले चाहे अनुसारको डाटा प्याकेज लिन सकिने टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले जानकारी दिए ।













































































































































































































